Kath khabar
फ्लोरिडामा समुद्री इयान आँधी तुफान र बाढीको सङ्कटबीच 'लुटपाट' नियन्त्रणका लागि कर्फ्यु

              फ्लोरिडा, असोज १३ ।  शक्तिशाली तुफान सहितको समुद्री इयान आँधी अमेरिकाको फ्लोरिडा राज्यमा बज्रिएपछि उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।

उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली ५ आँधीमध्येमा १ भएको बताएका छन्। उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्‍याएको छ।अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराइरहेको बताएका छन्।

उक्त राज्यभरि १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्। इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन नराम्रो अवस्थाका लागि तयार रहन चेतावनी दिएका छन्।

उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। आँधीका कारण फोर्ट मायर्स सहर सहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ। बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु अर्को सूचना नभएसम्म कायम रहने काउन्टीले जनाएको छ।

आँधीका कारण पेट्रोल स्टेसनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो। काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताए। उनले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

उनले फोर्ट मायर्स समुदाय केही हदसम्म ध्वस्त भएको बताएका थिए। तर त्यस क्षेत्रमा भएको चरम क्षतिको आकलन गर्न केही समय लाग्ने बताइएको छ।

 

साभार:बीबीसी

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update