Kath khabar
नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता


           काठमाडौं, असोज १३ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैङ्किङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैङ्किङ कारोबार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धी विषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष श्री विष्णु प्रसाद सुबेदीले नेपालको पहिलो र  गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकै नै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुई संस्थाबीच भएको सम्झौता ले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्र संस्थान र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल, सहज र प्रतिस्पर्धी बैंकिङ्ग सेवा प्रदान गदै यो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको थियो । उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्र संस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरू  लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धा  रुपमा अगाडि बढिरहेको छ । विगत केही वर्ष यता बैंकले छिटोछरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर  बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।


 

 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update