Kath khabar
कुनैपनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन - पूर्वराजा ज्ञानेन्द्र

 

            काठमाडौं, असोज १४ । पूर्वराजा  ज्ञानेन्द्र शाहले भिडियो सन्देशमार्फत बडादसैँको शुभकामनासँगै समसामयिक राजनीतिक धारणा व्यक्त गर्नुभएको छ । उहाँले यस पावन अवसरमा देशभित्र र बाहिर रहेबसेका सम्पूर्ण नेपालीहरूमा मंगलमय शुभकामना व्यक्त गर्दै नेपालको विद्यमान संविधान र भ्रष्टाचारको विषयमा पनि आफ्ना धारणा सार्वजनिक गर्नुभएको छ ।

उहाँले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताउनुभएको छ । कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन भन्दै उहाँले राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्दै उहाँले भन्नुभएको छ -

"प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ, समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नास गर्ने दशैँ पर्वको आदर्श हो। हाम्रो संस्कार र व्यवहारमा दशैँ मनाउँदा विद्यमान पद्धति र जीवनप्रकृतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ। शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् दशैँ पर्वको यही आशय हो। त्यसैले यस पावन अवसरमा देश भित्र र बाहिर रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन।  केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियो आवद्ध भएर बलियो र दरिलो नेपाल बनाउन दिव्यचेतना आउनु आवश्यक छ, देशका प्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधी व्यवस्था संगठन एवं प्रतिनिधित्वको सहि पात्र आज देशले खोजिरहेको छ। राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन्। जय नेपाल"

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update