काठमाडौं, असोज १४ । नेपालमा परापूर्व कालदेखि नै परम्परागत रुपमा मौरीपालन गरिंदै आएको र हालसम्म पनि स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन प्रायः सबै क्षेत्रहरूमा यथावत रहेको पाइन्छ । आधुनिक खेती प्रणालीमा विशेष गरी नेपाल जस्तो कृषिप्रधान देशमा बालीहरूमा परागसेचनको लागि मौरी एउटा प्रभावकारी परागसेचक किरा भएकोले मौरीपालनबाट कृषि क्षेत्रमा पनि अधिकतम लाभ लिन सकिन्छ ।
मौरीपालनका फाइदाहरू :
- मह, मैन, कूट, शाहीखुराक, मौरी विष, चोप, मौरीगोला
- परागसेचन, स्वरोजगार, जैविक विविधता, प्राकृतिक सन्तुलन, उत्पादकत्वमा वृद्धि
- थोरै लगानीबाट शुरुवात गर्न सकिन्छ जसलाई धेरै स्थानको पनि आवश्यकता पर्दैन
- यस व्यवसायबाट पहिलो वर्षमा नै आयआर्जन गर्न सकिन्छ। हाल महलाई निर्यात योग्य महत्वपुर्ण कृषि बस्तुको रुपमा पहिचान गरिसकिएको हुंदा गुणस्तरीय मह उत्पादन गरी विदेशमा पनि बिक्रि गर्न सकिन्छ
- हाल देशभित्रै पनि महको सेवन तथा माग बढिरहेको अवस्थामा मौरी पालन गरी आय आर्जन गर्न सकिन्छ ।
मौरीपालन व्यवसाय सुरु गर्नु अगाडि ध्यान दिनुपर्ने कुराहरू :
मौरीपालन उद्यमलाई सफल रूपमा सञ्चालन गर्नका लागि मौरीपालनका लागि माथि उल्लिखित विषयवस्तुका साथसाथै
तपसिलका विषयवस्तुमा पनि ध्यान दिनु जरुरी हुन्छ ।
मौरी जातको छनोट :
- सेरेना मौरी-उच्च पहाड, मध्य पहाड र उपत्यका
- मेलिफेरा मौरी-तराई , भित्री मधेश, मध्य पहाडी क्षेत्रको समथर भू-भाग र उपत्यका ।
चरनक्षेत्र छनौट :
- स्रोतको पहिचान
- फूल फुल्ने समयका बारेमा जानकारी
- सुरक्षित स्रोतको जानकारी
समयको छनोट :
- उपयुक्त समयको छनोट गर्दा क्षेत्र र चरनमा ख्याल राख्नुपर्दछ ।
- पहाडी भेगमा फाल्गुन, चैत्र भित्र मौरीपालन सुरु गर्ने ।
- तराई तथा भित्री मधेशमा असोज, कार्तिक र मङ्सिर महिना अति उत्तम, फाल्गुण र चैत्र उत्तम ।
- वर्षायाम र पौषमा मौरीपालन सुरु गर्न उपयुक्त हुदैन ।
नेपालमा पाइने मौरीका जातहरू र तिनका विशेषता :
मौरी एक सामाजिक एवं लाभदायक किरा हो । नेपालमा धेरै किसिमका मौरीहरू पाइन्छन्। खासगरी मह सङ्कलन गर्ने हिसाबले
मौरीलाई ५ जातमा विभाजन गर्न सकिन्छ ।
१. कठ्यौरी मौरी (एपिस फ्लोरिया) :
यो मौरी आकारमा मह मौरीहरू मध्ये सबैभन्दा सानो हुन्छ र यसले आफ्नो चाका खुला तर घाम कम लाग्ने साना रूखका हाँगा र बुट्यानमा बनाइन्छ । चाको साना हत्केला जत्रो र एउटा मात्र हुन्छ । यिनीहरू स्थान र स्रोत उपयुक्त नभएमा पटकपटक स्थानान्तरण गरिरहन्छन्। यसले वार्षिक प्रतिगोला लगभग १ के.जी. मह उत्पादन दिन्छ र यसको मह औषधीको लागि अति नै
उपयोगी मानिन्छ ।
२. खागे मौरी (एपिस डोरसाटा) :
यसले खुला ठाउँ मन पराउने हुनाले ठूला घरका छतमुनि, अग्लो रूखको हाँगामा एउटै ठूलो चाका बनाई बस्छ । यिनीहरू गर्मी मौसममा भित्री मधेसका खोँचतिर र जाडो मौसममा तराईतिर स्थानान्तरण हुने गर्छन् । यस जातका मौरी बढी रिसाहा हुन्छन् र एउटा गोलाबाट वार्षिक ३० देखि ५० किलोसम्म मह उत्पादन हुने गर्छ । यो मौरी अन्नबाली तथा फलफूलमा परागसेचनको लागि अति उपयुक्त मानिन्छन ।
क्रमश :