Kath khabar
इरानी दूतावासबाहिर अफगान महिलाले गरे नाराबाजी

               काबुल, असोज १४ ।  हिजाब सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको मृत्यु भएपछि अहिले इरानमा तनाव चर्किएको छ।अफगानिस्तानको राजधानी काबुलस्थित इरानी दूतावासबाहिर अफगान महिलाहरूले विरोधप्रदर्शन र नाराबाजी गरेका छन्।

उनीहरूले इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि आन्दोलित भएका महिलाहरूप्रति समर्थन व्यक्त गरेका हुन्। त्यहाँ प्रदर्शनहरू हिंसात्मक हुँदा ७५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ जना पक्राउ परेका छन्।

काबुलमा बिहीवार आयोजित प्रदर्शनलाई तालिबानका सुरक्षाकर्मीहरूले तितरबितर पारेका थिए। इरानको तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी निकायले हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ आक्रोशपूर्ण प्रदर्शनहरू सुरु भएका छन्। उक्त इस्लामिक गणतन्त्रमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागु गर्नेहरूविरुद्धको विरोधमा महिलाहरूले आफ्नो टाउकोमा लगाउने स्कार्फ जलाएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update