Kath Khabar
रङ्गशाला बिग्रेको भन्ने भ्रामक समाचारप्रति 'दशैं फेस्ट’ आयोजकको असन्तुष्टि



                काठमाडौं, असोज १८ । १० वर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साङ्गीतिक कार्यक्रम ‘दशैं फेस्ट’ भव्यताका साथ समापन भएको छ ।

दशैंको अवधिमा सहरी युवा वर्गमा एकताको सन्देश दिँदै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य सहित आयोजना गरिएको कार्यक्रममा लगभग १० हजार दर्शकको सहभागिता रहेको थियो । २० हजारको दर्शकको लक्ष्य राखिए पनि करिब १० हजार मात्र उपस्थिति रहेको तर कार्यक्रम सानदार तथा व्यवस्थित रूपमा समापन भएको थियो ।

साथै सोही कार्यक्रम समापन भएको भोलि पल्ट भने दशरथ रङ्गशालामा फोहोर गरेको भन्दै आयोजक माथि आरोप पनि लागेको छ । केही  अनलाइन पोर्टलहरूले भ्रामक समाचार सम्प्रेषण गर्दै उक्त आरोपलाई सत्य बनाउने प्रयत्न गरेका थिए । तर ती खबरहरू झुटा र दर्शकलाई  भ्रम फैलाएको आयोजकहरूको भनाइ छ ।

यस्ता खबर माथि असन्तुष्ट प्रकट गर्दै आयोजक कमिटीका संयोजक श्री गुरुङले आफ्नो सामाजिक सञ्जाल मार्फत एक  भिडियो राख्दै क्याप्सन लेख्नुभएको छ । ‘रङ्गशाला बिग्रिन्छ भनेर चिन्ता लिने धेरै साथीहरू हुनुहँदोे रहेछ तपाईँहरूको खबरदारी तथा समझदार दर्शकले गर्दा रङ्गशाला सकुशल रहेको अवगत गराउँदछौं । साथै यस्ता कार्यक्रम वर्षमा ३–४ पटक भए यो रङ्गशालाको व्यवस्थापन खर्च आफै धान्न सक्ने थियो नत्र चिनले बनाइदिएको रङ्गशाला सरकारी बजेटको आस र अभावमा अर्को दान, साफ वा महाभूकम्प कुर्न पर्ने हुन सक्दछ ।

अन्त्यमा रङ्गशाला प्रति तपाईँको माया आगामी आउने फुटबल वा अन्य खेलकुद कार्यक्रममा देख्न पाईयोस... बडा दशैंको शुभकामना सञ्जालमा गुरुङ लेख्नु हुन्छ । ‘दशैं फेस्ट’ मा द एज ब्याण्ड, नीतेशजंग कुँवर, वर्तिका एम राई, स्वप्न सुमन, भेक, यावेश, दोङ, त्रिशला गुरुङ, सुवानी मोक्तान र इलेमेन्टस् ब्याण्ड लगायत कलाकारको साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

साङ्गीतिक माहौलका साथै उक्त फेस्टमा त्रिशारा, अक्टेभ , मोन्स्टर मिल, चिकेन स्टेसन, डल्ले, भेरा पिज्जा, ट्यामरीन्ड ग्रुप, बबल टी, पर्पल हेज, एड्रेस लाउन्ज लगायत काठमाडौँमा चर्चित १५ रेस्टुराँहरूको स्टल रहेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update