Kath khabar
कथा : औसत खुसी  (अशेष अधिकारी)

 

                काठमाडौं, असोज २४ । गौरव आज बजारको दिन भएकोले निकै आशाका साथ बजार गइरहेको छ । आशा यस कारणले कि उसले आज नयाँ नयाँ कपडा किन्न पाउने भएको छ । उसलाई उसको दाइलाई भन्दा बढी लुगा किनिदिने भएका छन् । ऊ सिधा सिधा कपडा पसलतर्फ आमासँग जान्छ । त्यहाँ भएका अनेक किसिमका लुगा कपडाहरूले ऊ आँफै अन्योलमा पर्छ कि उसले कस्तो किसिमको लुगा किनोस् । तै पनि आफूले देखेसम्मका लुगाहरू उसले छानछुन गर्न थाल्छ । एउटै पसलमा आफूलाई चित्त बुझ्ने लुगा के भेटिएला र ? अहँ उसलाई चित्तै बुझेन ।

गौरव बसेको गाउँ अहिले पहिलाभन्दा बिल्कुलै बदलिएको छ । पहिला गाउँमा जुन किसिमले मानिसहरूले आफ्नो जीविका चलाउने गरेका थिए, आजको समयमा यो बिल्कुलै विपरीत ध्रुव जस्तो लाग्छ । समय आखिर उस्तै के रहिरहला त ? लामो समयपछि पनि आफू बसेको ठाउँ उस्तै देखिनु एकदम मुस्किल नै छ । ऊ बसेको गाउँमा पहिला जव गौरव ताते ताते गरेर हिँड्ने गरेको थियो तव उसको गाउँमा धेरै युवाहरू त्यतै गाउँतिरै भेटिन्थे तर आजभोलि वैदेशिक रोजगारको खोजीले गाउँलाई शून्य बनाएको छ । सबै युवाहरू विदेशतर्फ ग्राभिटेट हुन थालेका छन् । घर घरमा त केवल आमाबाबुको मुखदेखि बाहेक अरूको मुख देख्नै सकिँदैन । युवाले देश छाड्नुले घरमा वृद्ध बाआमा एक्लै पर्न गए ।

गौरवले लुगा पसलमा हेर्न त अनेक थरीकै लुगा हेरेको थियो । उसलाई मन पर्ने लुगा त्यो लुगा पसलमा छैन भने यसमा त्यो लुगा पसले दाइको गल्ती नै के भयो र ? गौरवको अनुहारको डिजाइन हेर्दा गौरव रिसाउन लागे जस्तो देखिन्थ्यो । त्यो रिस प्रस्फुटन हुनु अघि नै उसको आमाले उसलाई “भैगो निरसाऊ, म तिमीलाई अर्को लुगा पसलमा लगेर अझै राम्रो लुगा किनिदिइहाल्छु नि । कुनै लुगा पसलमा आफूले खोजेजस्तो लुगा नभेट्नु स्वाभाविक नै कुरा हो नि ।” भनेर भन्छिन् । धेरैओटा लुगा पसल चहारिसकेपछि उनीहरूले एउटा लुगा पसलमा उसले खोजे जस्तो लुगा भेटे । हुन पनि नजिकको तीर्थ हेलाँ भन्ने उखान नै चरितार्थ भयो । त्यो लुगा पसल अरू कसैको नभएर आफ्नै छिमेकी दिदीको थियो । यसपालि त त्यहाँ के भन्नु, किसिम किसिमका लुगाहरु ल्याएकी रहिछन् नि मेरी बास्सै । गौरवको लुगा लगायत गौरवकी आमाले अरू खत्राङ खुत्रुङ कुराहरू पनि किन्छिन् । जे होस् मान्नै पर्छ उनले घर आउँदा दुई झोला चाहिँ भरी बनाएर नै आइन् । उनले एउटा झोला गौरवलाई बोक्न दिएकी थिइन् भने अर्को चाहिँ आफैँ बोकेकी थिइन् । अङ्ग्रेजीमा एउटा कहावत छ नि “होम स्विट होम”, उनीहरू त्यही होममा आइपुगे तर स्विट चाहिँ थिएन, सायद गौरवले खाँदैगरेको चक्लेट चाहिँ स्विट भएर होला । सपिङको भारी झोला हल्लाउँदै उनीहरू दुवै घरभित्र प्रवेश गर्छन् ।

गौरवको दाजु पनि उनीहरु घर भित्र प्रवेश गरे लगत्तै घरमा आउँछ । दाजु ज्योतिले आफ्नी आमा र भाइले झोलाभरि सामान ल्याएको देखेर आफ्नो लागि पनि केही न केही त ल्याइदिएका छन् होला नि यिनीहरूले भनेर केही छिन त मक्ख पर्छ तर उत्तर केवल शून्यता मात्र छ । त्यो शून्यतालाई चिर्दै उसले उसकी आमालाई सोध्छ “यत्रो दुई झोला सामान छ, यसमा पक्कै पनि मेरो लागि पनि केही सामान त ल्याउनुभएको छ होला नि, हैन त ? दाजुभाइमा कोही लाखा अनि कोही पाखाको स्थिति त पक्कै पनि सिर्जना नहोला नि !” तर उसकी आमा निहुरिएर चुपचाप स्थिर भुईँमा स्वयम् पनि स्थिर भएर हेरिरहन्छिन् । तर ज्योति चाहिँ गतिशील भएर गौरवको हातबाट झोला खोसेर आफ्नो हातमा लिन्छ ।

उसले त्यो झोलामा सबैका लागि सबै सामान भेट्यो तर उसको लागि कुनै सामान भेटेन । “लु गरी खाओ” उसले सासले बोलेर बर्बराउन थाल्छ । उसले अहङ्कार र रिस आधा आधा मिसिएको मिश्रणका साथ त्यो लोला आमातर्फ प्रहार गर्न आफ्नो शब्दवाणको प्रयोग गर्दै भन्छ । “यस्तो अज्ञात प्रेरणा कसरी मिल्यो मलाई चाहिँ एक्लै छोड्ने ? घरमा त गौरवले मलाई एक्लै छाड्दैन तर यसरी सपिङ गर्ने मामलामा चाहिँ ?” उनीहरूको छिमेकी बेकम्मा सराबी छ । त्यसैले उनीहरूको सानो गन्थनलाई चिर्दै ठुलो स्वरमा छिमेकको आँगनमा उफ्रिएर उसकी स्वास्नीलाई गाली गरेको हल्ला गाउँभरि उग्र हुन थाल्छ ।

ज्योतिले दिक्क मान्दै भन्छ “हरे शिव ! आज फेरि यिनीहरूको घरमा सुरु हुन थाल्यो, यिनीहरूको हल्लाले कानमा रुवा खाँदेर सुत्नु पर्ने स्थिति आउन लागेको छ । दिनदिनै यस्तो ध्वनि प्रदूषणले बिचरा कानको जालीले के धान्न सक्छ होला र ? यिनीहरू हल्ला गर्ने बेला चाहिँ एकान्त ठाउँमा हल्ला गरेर त्यसपछि हल्ला खल्ला सकिएपछि चाहिँ घर आए त सिङ्‌गो समाजलाई नै अक्सिजन मिल्ने थियो ।” “के गर्छौ त नानी ! आजको सभ्य समाजमा सभ्यताले आत्महत्या गरेपछि, राजाको पनि केही नलाग्ने रहेछ । तिमी भयौ भिखारीको भन्दा एक स्टेप माथिको नागरिककोे छोरा, जसको लागि सपिङबाट केही पनि सामान ल्याइएको छैन ।” गौरवले “लिनु दाजु यो एउटा चाउचाउमा परेको चक्लेट छ यही तिम्रो लागि” भनेर भन्छ । ज्योतिले झस्किएर भन्छ “धत्तेरीका ! के कुरा गरेको, आलुजस्तो ।” “ए साँच्ची ! आज बेलुका आलु खानु पर्छ है तर ज्योतिलाई चाहिँ नदिऊँहोला किनकि उसले खान चाहिँ आलु नै खान्छ किनकि हामीले पकाएको आलु नै हुन्छ नि तर पिँडालुको धाक देखाउन कुनै कसर छाड्दैन ।” गौरवले भन्छ । गौरवको घुमाउरो उत्तर सुनेर ज्योतिको दिमागको तारहरूले सङ्‌गीत ध्वनि कर्कशताको साथ बजाउन थाल्छन् । ज्योति रिसले चर्कन थाल्छ । साँच्चै भनेको त्यति धेरै त अहिले सम्म उनीहरु बसेको गाउँमा घाम पनि दिउँसो मासा चर्किएको थिएन होला । उसलाई थाहा थिएन होला रिसले कसरी विष भएर ठुलो ठुलो उपद्रो मच्चाउनलाई चोसे ढुङ्गाको काम गरेको थियो विगतमा भनेर । तर उसलाई वर्तमान नै प्यारो र भविष्यले कहिलै झकझकाउँदो पनि रहेनछ । एकचोटि भविष्यले उसलाई झकझकाउन अगुल्टाले हाने पनि हुने थियो किनकि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि आत्तिने थियो ।

ज्योति दिनभरि कारखानामा काम गर्थ्यो। उसको जीवन औसत गरिबीको रेखामुनि रहनेहरूको जस्तै नै थियो । दिनभरि काम गरी भारी शरीर र भारी मस्तिष्क लिएर कारखानाको साहुको किचकिचका साथ आयो । टेबलमा एउटा पङ्खा उसैलाई हेरिरहे झैँ गर्दछ जब ऊ खाटमा आफूलाई हलुका छाड्छ । ऊ पङ्खा चलाएर आफ्नो शरीर र मस्तिष्कको उपचार गर्न खोज्छ । उसको भाइले तैपनि उसलाई कहाँ शान्तिले सुत्न दिन्छ र ऊसँगै टाँसिन आइपुग्छ । जहिलै गौरव ज्योति कामबाट फर्कँदा केही मिठो खानेकुरा पो लिएर आयो कि भनेर विचार गर्छ तर विचरा आफैँले कहाँबाट खान पाओस्, खाजा त कहिल्यै टन्न पेटभरि खान पाउँदैन उसले, भाइलाई के लिएर आओस् र ?

खै ! आज कुन दिन पर्‍यो त्यो त क्यालेन्डरमै हेर्नुपर्ला तर आज जे होस् रात एकदम भयङ्कर थियो । तर यो रातको विशेषता के छ भन्दा चाहे मानिस सेता हुन् या काला हुन् सबैथोक कालै देखिन्छ । बिचरा मेकअपवालाको दिमागलाई चेकअप गर्ने बेला होला किनकि उनीहरूको मेकअप आखिर कुन दौड प्रतियोगितामा भाग लिएर हार्दैछ ? यति बुझ्नुहोस्, भयङ्कर रात छ । जुन रात सायद चोर, डाका र पल्ला घरे काका सबैलाई प्यारो होला । चोर डाकालाई लुट्नको हतार, पल्ला घरे काकालाई जानुपर्ने कतार । किन कतार जाने भनेर भन्यो भन्नुहोला । रक्सी खाएर आएर रातभरि झगडा गरेपछि अनि घरबाट बाहिर खेदेर गेटको ढोका लगाएपछि अब जानु परेन त कतारतिरै यसो बुढी अनि छोराछोरी खुसी होलान् तर जाने कसरी ? जाने भन्दा पनि रक्सी भोलि पनि खाने कसरी ? यही कुरा ती काकाको दिमागमा रोटेसन गरिरहन्छन् ।

पल्ला घरे काकाको एउटा बानी चाहिँ निकै अनौठो छ, उनलाई भूत-सुत केहीको पनि डर न भर हिँड्ने गर्छन् सरासर । खाएपछि त भूत पनि तीन डाँडा पर भाग्छन् भन्ने अर्को फिलोसोफी उनकोे अवचेतन मनमा लिप्त भएको होला । हिजो मात्र उनले गाउँको फलैँचामा बसेर कुनै अनजान बटुवालाई “मैले भूतसँग कुस्ती खेलेको जितेँ पनि तर साला गोल्ड मेडल नै दिने कोही आयोजक नै थिएन । ठिकै छ अर्कोचोटि म तिमीहरूलाई नै कार्यक्रम आयोजना गर्ने जिम्मेवारी दिउँला ।” भन्दै गफ हाँक्दै थिए । आज पनि उनी आयोजकलाई भेला पार्ने हुन् कि होइनन् त्यो त थाहा छैन तर यो कुरा शाश्वत् सत्य हो कि उनी चिहानको बाटो लागे । साँच्चै आखिर उनलाई खोला पारिको चिहानसँग के मोहनी लागेछ, सँधै पिरको इलाजको लागि र घरमा नहुँदा वासस्थानको खाँचो चिहानले नै पूरा गरेको थियो । ती काकाको बारेमा कसैले आलोचना गरे भने उनी मुसुक्क हाँसे जस्तो गर्छन् । अनौठो बानी छ उनको । उनी मुसुक्क हाँसेको देखेर यो मान्छेले आलोचना पचाउन सक्ने रहेछ भन्ठानेर अरूहरूले उनको अझै आलोचना गर्न थाल्छन् । किनकि जो मान्छे आँफैमा हाँस्न सक्छ उसैको माथि ज्यादा आलोचनाको बज्रपात हुँदो रहेछ । किनकि साधारण गणितीय सिद्धान्त छ पिँडालु गुना आलु आलु नै हुन्छ । तर एकछिन पर्खनुहोस्, उनी आफैँमाथि हाँस्ने मानिसमा सयमा सय पर्दैनन् । सयमा नब्बे त भ्रममा पर्छन्, सयमा दश चाहिँ तटस्थ हुन्छन् । तर उनी खासमा रिसाउनु भन्दा अघि यसै गर्छन् । यो नै उनको स्टाइल हो रिसाउने । सायद उनले रिसाउने चुरो उप्काउन यसै गर्छन् ।

मुसलधारे पानी अगाडि आकाश गर्जिन्छ । उनको गर्जिने शैली नै फरक रहेछ, अब सुरु हुन्छ मुसलधारे वर्षा । उनको रिस त अचम्मै कडा सबैमाथि गर्जन पुग्छन् । उनको गुम्सिएको भयानक रिस आखिर कसरी उनको सुरुको मुस्कुराहटले दर्साउन सक्ला र ? उनको भयानक रिस प्रस्फुटन भएको बेला गाउँमा सानो मेला लाग्न दसैँ नै कुर्नु पर्दैन, नयाँ वर्ष नै कुर्नु पर्दैन किनकि उनी आफैँ दसैँ हो दशा मात्र भएको अनि आफैँ नयाँ वर्ष पनि हो पात्रो मात्र फेरिने, सन्दर्भ उही रहे जस्तो । कुरा एक हप्ता अगाडिको हो गाउँको ठुला ठालुमा गनिने भवानी अङ्कलले उनलाई रक्सी छोड् भन्दै सुध्रिन प्रेरित गरेका रहेछन् । तर उनलाई चाहिँबिग्रीन प्रेरित गरेझैँ लागेछ, थोरा रिसाएका हैनन्, धन्नले हात हाल्न चाहिँ डराउँदा रहेछन् नत्र पुलिस नै बोलाउनु पर्ने अवस्था आउने थियो । खैर केही छैन किनकि धन्नले केही भएन । यदि केही भएको भए सायदै यो कथाले टर्निङ पोइन्ट लिने थियो होला ।

गौरव सँधै ज्योति दाजुको मोवाइल मागेर मोबाइलमा अनौठा अनौठा कुरा हेर्दथ्यो । आफ्नो मोबाइल त हुनु पर्‍यो नि ! अनि अहिलेबाटै भएर पनि हुँदैन । अनि उनीहरू गरिब पनि त छन् । उनीहरु त गरिब छन् भने पक्कै पनि उसले धनी कसरी हुने भन्ने बारेमा गरिएका कुराहरू हेर्छ होला नि ! हैन, ऊ त त्यो भन्दा पनि माथिल्लो स्तरको कुरा हेर्दोरहेछ । जस्तै गरिब किन अझै गरिब हुँदैछन् र धनी किन अझै धनि हुँदैछन् भन्ने कुरा । उसको भाषामा भन्नुपर्दा ऊ आफूलाई सत्यको खोजी गर्ने मानिस भन्ठान्दो रहेछ र आखिर सत्य कति महान् हुन्छ भन्ने कुरा त जो कोहीले बुझेकै राम्रो । तर भर्खर किशोर अवस्थाको उमेरमा पुगेकालाई सत्य जाने के, नजाने के, मोज मस्ती गर्ने उमेरमा उसलाई आखिर कुन दशा लागेछ ? सत्य जानेर चाहिँ के गर्ला ? यस्तै बच्चाहरूलाई त आन्दोलन भएको बेला खुसी बनाएर ढुङ्‌गा मुढा प्रहार गर्न शरीरमा खुन उमाल्ने काम गर्छन् ।

गौरव हरेक कुरालाई गम्भीर दृष्टि दिन थालेको छ । हरेक कुराबाट सत्यको बाटो खोज्न खोज्छ । एउटा समुद्र सत्य हो भने त्यहाँ खोलानालाहरूको गन्तव्य खोज्दा समुद्र भेटिन्छ । हरेक कुरामा सत्य खोज्ने गर्न थालेको थियो । आजभोलि ऊ फेर एण्ड हेन्समको विज्ञापन बनाउनेको निन्दा गर्न थालेको थियो । उनीहरू कसरी मानिस गोरो हुँदैमा उनीहरूलाई सबैले मन पराउँछन्, जागिरमा सेलेक्सन गर्छन् भन्ने झुटको पछाडिको सत्यको खोजी गरिसकेको थियो । तर बिचरा बच्चा छ, उसलाई उसको इन्ट्रोपीलाई आफ्नो पढाइमा लगाएर सानो मान्छेले जस्तै कुरामा रमाउन कसले सिकाइदियोस् ? ए अनि साँच्चि ! गौरवको दाजु ज्योति सँधै एउटा टोपी पनि लगाउने गर्दथ्यो । गणेशको वाहन मुसा भनेजस्तो उसको वाहन टोपी होला भलै ऊ टोपी माथि सवार अवश्य पनि गर्दैन । कति टोपी लगाउन मन लागेको कठै ! उसको बारेमा अनौठो कुरा जान्न चाहनुहुन्छ भने ऊ सुतेको बेला उसको सामु जानुहोस् । उसको प्यारो टोपी उ सुतेको बेला पनि उसको शिरमाथि विराजमान भएर रहेको हुन्छ । उसलाई टोपी यति प्यारो थियो कि सायद उसले सपनामा पनि आफूले टोपी लगाइरहेको देख्थ्यो होला । यस्तो भेलुएबल टोपी उसलाई आखिर कसले गिफ्ट दियो होला अथवा उसले स्वयम् आफैँले किनेको होला, आफैँले किन्दा पनि त्यो लक्की कुन पसलमा किन्यो होला जसको सामानले उसलाई मोहनी लगायो । यो सब अज्ञात नै छ ।

उनीहरूकी आमातिर हेर्दा ब्ल्याक एण्ड ह्वाइट फिल्मको दृश्य देखेजस्तो कदापि लाग्दैन । उनी मानिस मनले धनी हुने हो धनले होइन भन्ने फिलोसोफीलाई आत्मसात् गर्छिन् । उनलाई उनका छोराछोरीले भनिदिए पनि हुने हो कि “ए आमा ! किन यति थोत्रो साडी लगाउँछ्यौ ? नयाँ साडी लगाऊ ।” तर बोलेर मात्र के होला बोलीसँगै साडी किन्ने रकम चाहिँ कुन च्यारिटीबाट उठाउने हो कुन्नि ? समग्रमा भन्नुपर्दा आमातिर हेर्दा उनी जीवनबाट सन्तुष्ट नै देखिन्छिन् । त्यसैले त मोटाएर फुट्न लागेको फर्सी जस्ती भएकी छिन् । फेरि सबै मोटा मानिस खुसी हुन्छन् भन्ने पनि छैन । यदि यसो हुने हो त वैज्ञानिकले कुन मानिस खुसी छ या दुःखी छ भन्ने खोजी गर्न त्यति गाह्रो हुने थिएन होला ।

गौरव आमाले खाना बनाएको बेला सघाउन चाहिँ सघाउँदैथ्यो तर सँधै छेउमा बसेर उनले खाना बनाएको हेरिरहन्थ्यो । “मेरा छोराले खाना बनाउन सिक्दै छ” भन्ठान्दिहोलिन् गौरवकी आमाले । तर त्यसरी उनको छेउमा बसेर खाना बनाएको हेरेको पनि करिब करिब एक वर्ष हुन लागिसक्यो । साँच्चै त्यो नै सत्य हो भने त अहिलेसम्म उसले आफैँ खाना बनाउन थाल्नु पर्ने होइन र ? ठिक छ, आमाको साथी बसेको चाहिँ हुनुपर्छ ।

रातको करिब करिब ८ बजे खानासाना पाकिसक्छ र सबै जना गोलो घेरा लाएर बस्छन् । उनीहरुको बुबा, आमा अनि ती दुई दाजुभाइ भोकले भुँडी कुइँ कुइँ पार्दै वरपर बस्छन् । आमाले खाना नबाँडेसम्म उनीहरूले लगातार त्यो भातको भाँडोतर्फ दृष्टिपात गर्दछन् । भोक मिठो कि भोजन मिठो भन्दा सायद भोक नै मिठो रहेछ, उनीहरू त्यो खानालाई प्यारका साथ खाने गर्दथे । खाना खाइ सकेपछि अन्तिममा भाँडामा केही खाना अझै उब्रिएको छ कि भनेर हेर्ने डिउटी चाहिँ सँधै ज्योतिकै हुने गर्दथ्यो । दिनभरको भोको पेट, जागिरको फ्रस्ट्रेसनको विरुद्धमा बेलुकाको त्यो मिठो तर भोको पेट भएकोले मात्र मिठो भएको हुनुपर्छ । हैन होला, साँच्चै मिठो होला किनकि उनीहरूकी आमाको हातमा जादु हुनुपर्छ । त्यो मिठो खानाले सबै थकावटलाई नष्ट पार्न एक सानो ज्वालामुखी विस्फोट गर्दथ्यो ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update