काठमाडौं, असोज २६ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आयोगले प्रेस विज्ञप्ति निकालेको छ ।
आयोगले सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सोमा संलग्न कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले उम्मेदवारहरूसँग तस्विर खिँचाई बधाई र शुभकामना दिने, राजनीतिक दलका उम्मेदवारहरुको प्रचार सामाग्रीहरुको सेयर र लाइक गर्ने अनुगमनका क्रममा पाईएकाले आवश्यक कारवाही शुरु गरेको आयोगले बताएको छ ।
शिक्षक तथा कर्मचारीले राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा सेयर र लाइक गरेका घटना अनुगमनका क्रममा पाइएकोले आयोगले त्यस्ता क्रियाकलापमाथि कडाई सुरु गरेको हो ।
राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमार्फत सन्देश, सूचना वा प्रचार प्रसार सामाग्री पोष्ट गर्न, लाइक र सेयर गर्न नहुने तथा मत माग्न नहुने पनि आयोगले स्पष्ट पारेको छ । यो व्यवस्था उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोधिने र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोगले अवगत गराएको छ।