काठमाडौं, असोज २६ । अलैँची Amomum subulatum Roxb पहाडी भेगमा पाइने एक वनस्पति हो । वनस्पति जगतको Zingiberaceae परिवार अन्तर्गत पर्ने अलैंची (Black cardamon) एक अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा Perennial Herb हो । यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ । नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातीका अलैंचीहरू इण्डो-चिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । यो वनस्पति कुनै पनि भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिन्छ । यस कारण यो वनस्पति खेर गएको जमीनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमीनलाई भू-क्षय हुनबाट पनि बचाउन सकिन्छ ।
खेती र परम्परागत बजार :
अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखि ५००० मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ। "डम्मरसाई", "रामसाई", "चिवेसाई", "गोलसाई", "राम्ला", "साउने", आदि अलैँचीका प्रमुख जात हुन्। डम्मरसाई ७०० देखि १२०० मिटरको उचाइसम्म र रामसाई त्यसभन्दा पनि माथि २१०० मिटरसम्ममा लगाउन सकिन्छ। १२०० मिटरभन्दा माथि नै लाग्ने साउनेको दाना ठूलो हुने र यसमा रोग कम लाग्ने भएकोले रामसाई भन्दा कम फले पनि किसानहरू साउनेप्रति आकर्षित भएका छन्।
नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ। यद्यपि अलैँची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी ३ प्रतिशत मात्रै अरू विकास क्षेत्रमा पर्दछ। नेपालमा सबैभन्दा बढी अलैँची खेती गर्ने जिल्लामा ताप्लेजुङ्ग, (३६४७ हेक्टर), संखुवासभा (३२५९ हेक्टर) र इलाम (२७७४ हेक्टर) पर्दछन्। कुल १३ हजार १९२ हेक्टर क्षेत्रमा लगाइएको अलैँचीमध्ये ११ हजार ४९८ हेक्टर अर्थात् झन्डै २ लाख ३० हजार रोपनीमा उत्पादन दिने अवस्थाका बोटहरू छन्। लगाएको ३-४ वर्षपछि फल्न थाल्ने अलैँची २५-३० वर्षसम्म फलिरहन्छ।
अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँस लगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान सावित भएको छ। अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजीकै हाङ्देवामा करिब २ दशकअघि गएको निकै ठूलो पहिरो अलैँचीले नै रोकेको, पहिरो गएको ठाउँ र भिरालो जग्गामा उत्तिसका बिरुवाहरू राम्रोसँग हुर्केका तथा अलैँचीको आम्दानीले स्थानीय अर्थतन्त्र एवं जनजीवनमा परिवर्तन समेत आएकोछ ।
क्रमश :