कास्की, असोज २६ । पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बुधबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब दोस्रो खेलमा पनि विजयी भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा १ नम्बर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको १ नम्बर प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ४० रन मात्र बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले ३७ रन, काजल श्रेष्ठले ६ रन, सम्झना खड्काले ६० रन, अप्सरी बेगमले २१ रन र रूबिना क्षेत्रीले १६ रन जोडेका थिए भने अतिरिक्त १८ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी सबनम राई, कविता कुँवर र कविता जोशीले समान १ विकेट लिएका थिए र हिरुमई रायले ३ विकेट लिएकी थिइन । खेलमा ४३ बलमा १० चौका सहित ६० रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् ।
जितसँगै नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह ’बी’ मा ४ अंक सहित पहिलो स्थानमा रहेको छ । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २८ गते लुम्बिनी प्रदेश सँग तेस्रो खेल खेल्नेछ ।