Kath khabar
१८औँ सूर्य नेपाल ज्याजमाण्डु २०२२ शुरु

                  

               काठमाडौं, असोज २६ । ज्याज फेस्टिभलको १८औँ संस्करण नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सीमाना नाघेर सङ्गीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले अक्टोबर १३ देखि १९ सम्म हुने भएको छ ।

कोभिड-१९ को महामारीका कारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमाण्डु-२०२२ मा जम्मा सात कलाकारको सहभागिता रहनेछ । ज्याजमाण्डु आयोजकका अनुसार छ दिनसम्म चल्ने ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थित मलपी इन्स्टिच्युटमा कन्सर्ट/संगीत प्रतियोगिताबाट सुरु हुनेछ ।

ज्याजमाण्डुको बहुप्रतिक्षित ज्याज बजार अक्टोबर १५ को दिउँसो आयोजित हुनेछ, जहाँ उपस्थितहरूले गोकर्ण फरेस्ट रिसोर्टमा अविश्वसनीय सङ्गीतको आनन्द लिन सक्नेछन् । महोत्सव अक्टोबर १९ मा दरबारमार्गको होटल याक एन्ड यतिमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुनेछ ।

सन् २००२ मा पहिलो पटक आयोजना गरिएको ज्याजमाण्डु आजसम्म आउँदा सूर्य नेपालको सहकार्यको साथले अधिकतम उचाइ लिन सफल भएको छ । ज्याज संगीत प्रवर्द्धनको रुपमा शुरु गरिएको सूर्य नेपाल ज्याज फेष्टिभल अहिलेसम्म आइपुग्दा बहुप्रतिक्षित साँगीतिक कार्यक्रमको रुपमा स्थापित भइसकेको छ ।

धेरै मानिसहरूलाई सङ्गीतको पहुँचमा पुर्‍याउन सूर्य नेपाल ज्याजमाण्डुले निःशुल्क शोहरु, विद्यालय लक्षित शैक्षिक कार्यक्रमहरु तथा कार्यशालाहरू मार्फत सक्रिय रूपमा कार्य गरिरहेको छ । यसले संगीतकार, स्वयंसेवक, फ्यान, विद्यार्थी र श्रोतालाई एकै ठाउँमा ल्याएर सांस्कृतिक अन्तरक्रियालाई पनि प्रवर्द्धन गर्दै आएको छ ।

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले ज्याज संगीत प्रवर्द्धनको निमित्त ज्याजमाण्डु संयोजकहरूसँग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारहरूलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update