भक्तपुर, असोज २८ । भक्तपुरको भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेका र आर्थिक वर्ष २०७९/८० मा गर्ने योजनामा राखिएका गतिविधि, कार्यक्रमबारे जानकारी दिनुभएको छ ।
यसैगरी, सभामा संस्थाका कोषाध्यक्ष प्रज्वल जोन्छेले संस्थाको आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । उहाँले २०७९ असार मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति ४२,४३,१८,०५४।४४ पुगेको जानकारी गराउनुभयो भने आर्थिक वर्ष २०७९/८० मा कुल सम्पति ५०,९१,८१,५६१/– पुर्याउने अनुमानित बजेट पेश गर्नुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा संस्थाले रु. ५८,३१,७७०।५७ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले सदस्यहरुलाई १०।४८ प्रतिशत शेयर लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा प्रमुख अतिथि मानन्धरले भक्तपुर जिल्लाका प्रतिष्ठित उद्यमी तथा व्यवसायीहरु आबद्ध रहेको उक्त सहकारी संस्थाले भक्तपुर जिल्लामा छुट्टै पहिचान कायम गर्न सफल भएको बताउनुभयो । उक्त संस्था सहकारी नीति नियम र सिद्धान्तमा रहेर सञ्चालित भएको हुँदा जस्तोसुकै समस्याको सामना गर्न भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्था सक्षम हुनेमा उनले विश्वास व्यक्त गर्नुभयो। उहाँले सहकारीमा आबद्ध सदस्यहरुले संस्थाको सञ्चालक समितिमा रहेका पदाधिकारीहरुले संस्थामा गरिरहेका क्रियाकलापसँगै सहकारी संस्थाले वार्षिक साधारणसभा गरे नगरेको, लेखा परीक्षण गरे नगरेको, वित्तीय प्रगति प्रतिवेदन प्रकाशित गरे नगरेकोलगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीयवासीहरु मिलेर खोलेका कारण अपवादबाहेक भक्तपुरमा खोलिएका ८० प्रतिशतभन्दा बढी सहकारी संस्था राम्ररी सञ्चालन भइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष उत्तमप्रसाद वैद्यले संस्थाका सदस्यहरुको योगदानकै कारण संस्था आजको स्थानसम्म आइपुगेको भन्दै आगामी दिनमा पनि संस्थाको प्रगतिका लागि रचनात्मक सहयोग गरिरहन सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा प्रभाव परिरहेको बेलामा विभिन्न सहकारीहरु समेत समस्या रहेको भन्दै भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाले भने पर्याप्त तरलता व्यवस्था गरेका कारण कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो ।
सभामा प्रमुख अतिथि मानन्धरले संस्थाका ज्येष्ठ सदस्यहरु रामकेशरी अमात्य र बेलभक्त कोजूलाई कदर पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । अध्यक्ष वैद्यले प्रमुख अतिथि मानन्धरलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।