काठमाडौं, असोज ३०। अलैंचीलाई विभिन्न तरिकाबाट सुकाउन सकिन्छ तर यसको गुणस्तर, बजार भाउ यसैमा जाँचिने भएकोले यस पक्षलाई गम्भिरतापूर्वक लिनु पर्छ। अलैंची सुकाउने विभिन्न प्रकारका भट्टीहरु पाईन्छन्। कुनै भट्टीमा धुवाँको माध्यमबाट अलैंची सुकाइन्छ भने कुनैमा राप र तापको माध्यमबाट सुकाईन्छ। हाल प्रयोगमा आएका भट्टीहरुमा स्थानिय भट्टी, सुधारिएको स्थानिय भट्टी, बिजुली भट्टी आदि छन्।
अलैँची सुकाउने विधिहरु :
घाममा सुकाउने :
कम अलैँची उत्पादन गर्ने कृषकहरुले यो तरिका अपनाएको पाइन्छ तर अलैँची टिप्ने बेलामा वर्षा र कुहिरो लागिरहने हुंदा दानाहरु पुर्ण नसुक्ने र समय पनि ज्यादा लागि ढुसी पर्ने संभावना बढी रहन्छ । अतः घाममा अलैँची सुकाउनु त्यत्ति उपयुक्त हुदैन।
भारमा सुकाउने :
यो तरिका पनि थोरै परिमाणमा उत्पादन गर्ने किसानहरुले प्रचलनमा ल्याएको पाइन्छ। यसरि सुकाउने अलैँचीको रंग ध्वासे हुने, आन्तरिक गुणहरुमा ह्रास भई मुल्य कम हुन्छ।
भट्टीमा सुकाउने :
परम्परागत वा स्थानिय भट्टी, नेपालमा लामो समय देखि अलैँचीलाई भट्टीमा सुकाउने गरिएको पाईन्छ । जसलाइ अलैँची सुकाउने परम्परागत वा स्थानिय भट्टी भनिन्छ । यसमा कांचो दाउराको सहायताले धुँवाको मुस्लो निकालि त्यसैबाट अलैँची सुकाउने गरिन्छ । यो भट्टी गाउँघरमा सजिलै बनाउन सकिने, कम लागत लाग्ने साथै आगो बाल्न आवश्यक पर्ने दाउरा समेत प्रशस्त पाइने भएकोले बढी प्रचलनमा रहेको छ । यस प्रकारको भट्टी घरको आँगन वा बारीको कान्लामा जमिनको सतहबाट १ मिटर उचाइ राखी बनाउन सकिन्छ । तीनतिर माटोको भित्ता वा ढुङ्गा माटोको गारो लगाई एकापट्टी दाउरा लगाउने भाग हुन्छ । माथिपट्टी टिनलाई सानो सानो प्वाल बनाएको तारको जाली राखी त्यसमा अलैँचीलाई सुकाइन्छ । यस्ता भट्टीको उचाइ करिब २ मिटर हुन्छ । तारको जाली वा प्वाल पारेको टिनलाइ चित्रा भनिन्छ । चित्रालाई अड्याउन बाँस राखी ३० देखि ५० से. मि. अग्लो पर्खाल उठाइन्छ । भट्टीको चारैतर्फ खम्बा गाडी माटोको पर्खाल भन्दा १.५ मिटर उचाइमा छानो लगाइन्छ । चित्रामा अलैँचीको करिब २ इन्च बाक्लो तह लगाई तलबाट आगोको धुँवा सहितको रापमा सुकाइन्छ । सुकाउँदा आगोको तापक्रम एकनासको नभएर तलतिरकोअलैँचीको भाग डढ्न पनि सक्छ त्यस कारण बेला बेला चलाउनु पर्दछ । यो तरिकाले सुकाउदा अलैँची एकरुपले नसुकने साथै सुकेको अलैँचीमा पानिको मात्रा १४ देखि २० प्रतिशत सम्म मात्र पुर्याउन सकिने र अलैँची डढेको वा जलेको जस्तो देखिने, अलैँची फुट्ने वा फुटेकोले दुलो परेको जस्तो, किरा लागेको जस्तो देखिने समस्याहरु देखा पर्दछन्। अलैँचीलाइ सुकाउन धेरै समय (लगभग) २-३ दिन लाग्छ । यो तरिकाले सुकाएको अलैँचीको रङ् कालो हुने साथै धुँवा मिसिएको गन्ध समेत हुने भएकोले सुकेको अलैँचीको गुणस्तर राम्रो हुदैन । यसरि तयार गरिएको अलैँचीको आयु ६ महिना भन्दा बढी हुदैन । यो तरिकाबाट १ के. जी. सुकेको अलैँची तयार गर्न २०-३० के.जी दाउराको आवश्यकता पर्छ। यस तरिकाले सुकाएको सुकेको अलैँचीमा उड्ने तेल (भोलाटायल आयल) को मात्रा पनि कम करिब १.८५ हुन्छ त्यस कारण यो तरिकाले सुकाएको अलैँचीको मुल्य पनि कम नै पाउँछ ।
परम्परागत भट्टीबाट तयार पारिएको अलैँचीका समस्याहरु र चुनौतिहरु :
नेपालको अलैँचीमा धुँवाको गन्ध पाइने र अलैँची कालो रङको हुनाले यसलाइ विश्व बजारमा नरुचाइएको पाइएको छ । साथै नेपालको अलैँची बारीमा पाइने एक जङ्गली अलैँची जुन चुरुम्पा नामले चिनिन्छ, यसको बनावट अरु प्रजातिको अलैँचीसँग मिल्ने तर रसायनिक गुण नमिल्ने अर्थात सुगन्धित बास्ना नभएको तर यो प्रजातिको अलैँची अरु प्रजातिको अलैँचीसँग मिसिएको पाइएकोले अलैँचीको निर्यात मुल्य घटेको देखिन्छ। अलैँचीलाइ टिपेपछि यसमा लागेको फोहोर तथा माटोहरु नहटाइ वा नधोइ सुकाउने प्रचलनले पनि सुकेको अलैँचीमा त्यस्ता फोहोर तथा माटो रहन गई अलैँचीको गुणस्तर ह्रास हुन्छ। अलैँचीलाई सुकाउने ठाउँ सफा नभएमा सुकेको अलैँचीमा फोहोर मिसिने तथा किटाणुको सँक्रमण समेत हुन गई खाद्य स्वच्छताको जोखिम समेत बढ्न जान्छ। अन्तराष्ट्रिय बजारमा अलैँचीमा साल्मोनेल्ला नामक किटाणुको कारण अलैँची बजारबाट फिर्ता भएको अवस्था छ। अलैँचीको भण्डारण र यसको प्याकेजिङ् राम्रो नभएर छिट्टै बिग्रेको र ढुसीको सम्भावना रहेको छ । अलैँचीको राम्रोभण्डारण र हावा पानी नछिर्ने प्याकेजिङ म्याटरियलमा प्याक नभए अलैँचीमा पानी तथा ओस पसि, जलांशको मात्रा बढी ढुसी पलाउने हुन्छ जसको कारणले अलैँची चाँडै बिग्रिन्छ।
धुँवा रहित आधुनिक भट्टी प्रविधि :
पुर्वी हिमालका सम्पूर्ण अलैंची क्षेत्रमा परम्परागत भट्टी प्रविधि र्नै अद्यावधिक प्रयोग ल्याइएको छ । हाल यसको विकल्पको खोजी भइरहेकोले अनुसन्धान गरि सुधारिएको भट्टीको विकास गरिएको छ। परम्परागत तरिकाले अलैँची सुकाउदा धुँवा गनाउने, सुरक्षित जलांशको मात्रासम्म सुकाउन नसकिने साथै धेरै दाउरा लागने हुँदा धुँवा रहित सुधारिएको भट्टी र आधुनिक ड्रायरको प्रयोग गरि अलैँची सुकाउन सकिन्छ। यो आधुनिक धुँवारहित ड्रायरहरुबाट तयार भएको सुकेको अलैँचीको गुणस्तर राम्रो हुने हुँदा धेरै मुल्यमा विक्री गर्न सकिन्छ। यो विधि बाट तयार भएको सुकेको अलैँचीमा धुँवाको गन्ध नहुने,बैजनि आकर्षक रङ हुने साथै आयु लामो हुन्छ। यो विधि बाट १ के.जि. सुकेको अलैँची तयार गर्न २-३ के.जि. सम्म दाउराको आवश्यकता पर्छ। यो विधिबाट सुकाएको अलैँचीमा उड्ने तेलको मात्रा २.६५५ रहन्छ। त्यसकारण परम्परागत भट्टी विधिभन्दा आधुनिक धुँवा रहित विधिबाट तयार भएकोअलैँचीको गुणस्तर उच्चस्तरको हुने र मुल्य पनि बढी प्राप्त गर्दछ। यो तरिकाले तयार गरिएको अलैँचीले निर्यातमा समेत राम्रो बजार पाउने सम्भावना रहेको छ।
२ ड्रम भएको आधुनिक भट्टी :
स्थानीयभट्टीमा नै एउटा ड्रमवाट चिम्नी निकाली धुँवा बाहिर पठाई तापवाट अलैंची सुकाउने प्रविधिको विकास गरिएको छ। यसवाट सुकाइएको अलैंचीमा मौलिक रंग कायम रहने र धुँवाको गन्ध आउदैन । यस प्रकारको भट्टीअलैंची विकास केन्द्र फिक्कल ईलामले २०५४ सालमा निर्माण गरि अलैंची प्रशोधन गरेकोछ । यस भट्टीले हाल सम्म गुणस्तरीय अलैँची सुकाउने काम गरको छ ।
विध्युतीय भट्टी :
यो भट्टीमा एक पटकमा ७० के.जी. काचो अलैंची सुकाउन सकिन्छ र सो अलैंची सुक्न १६ घण्टा लाग्दछ । यो भट्टीमा सुकाएको अलैंचीमा मौलिक रंग आन्तरिक रासायनिक गुणहरू यथावत रहने भएकाले स्थानीय बजारमा उच्च मूल्य पाउने गरेको छ । यो भट्टीमा अलैंची सुकाउनु अगाडि थुङ्गाबाट अलैंची छोडाइसकेपछि एक दिन घाममा सुकाएर वा फिजाएर यसमा भएका फोहोरहरू झार्नुपर्दछ । त्यसपछि यो भट्टीमा भएका १० वटा किस्तीमा १० के.जी.का दरले फिजाएर राख्नुपर्दछ । अलैंची राखेर किस्तीहरू बन्द गरेपछि भट्टीको मुख्य स्विच (बटन) खोल्नुपर्दछ । अलैंची सुकिसकेपछि अलैंची किस्तीबाट निकाल्नुअघि सर्वप्रथम हिटरको स्विच अनि केही समयपछि सिस्टमको स्विच बन्द गर्नुपर्दछ । अन्तमा २० मिनेट पछाडि मुख्य स्विच बन्द गर्नुपर्दछ । सबै बटनहरू निभाइ सकेपछि तुरून्तै किस्तीबाट अलैंची निकाल्नहुदैन । यसका लागि ४० देखि ४५ मिनेटसम्म पर्खनुपर्दछ । अलैंची निकालि सकेपछि केही समय सेलाएर चिसो भएपछि अन्य कामहरू, जस्तैः पुच्छर काट्ने, सानो–ठूलो छुट्याउने (ग्रेडिङ्) गरी राम्रोसग प्याकिङ्ग गरेपछि सुरक्षित राख्न वा बजारमा बिक्रीका लागि लैजान तयार हुन्छ ।