काठमाडौं,जेठ १६ । अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नु भएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय-व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको बताउनु भयो ।
‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ, उहाँले भन्नुभयो, कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं ।’
मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनु भयो । बजेट मार्फत् आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने उहाँको भनाई छ ।
मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताउनु भयो । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन,’ मन्त्री पौडेलले भन्नुभयो ।
उहाँले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताउनु भयो । ‘निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिनेछ, मन्त्री पौडेलले भन्नु भयो, निर्वाचनका लागि यथेष्ट महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ ।’
सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको छ। उहाँले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि सार्वजनिक गरिएको योजना तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको जीवनरक्षामा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।
खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट उहाँले भन्नुभयो । अर्थमन्त्री पौडेलले बजेट मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न ल्याएको समेत बताउनु भयो ।
संबैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछि पनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताउनुभयो ।