काठमाडौं, असोज ३०। तनहुँ परेवाडाँडामा जिपलाइन र ’स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको छ ।
केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि कार्तिक महिना भित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो । ‘मादी नदी वारपार गर्ने गरि ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ,’ उनी भन्छन्,‘९० फिट हाइटमा १०० मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’ यस्तै, जिपलाइनका लागि १ हजार ५ सय र स्काई रोप साइक्लिङ (दुई तर्फी) का लागि १ हजार शुल्क तोकिएको उहाँ बताउनुहुन्छ । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिनुभयो ।
रिसोर्ट दमौलीबाट ५ किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल ४ रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी २ वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचनाहरू समेत थप्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।
यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ २ वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार, ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।