Kath khabar
वास्तुशास्त्र सम्बन्धी प्रमुख दिशाहरू र त्यसका प्रमुख देवताहरू


                   काठमाडौं, असोज ३०। प्राचीन धर्मशास्त्रअनुसार ४ वटा प्रमुख दिशाहरू हुन्छन् । ती ४ वटा दिशाहरू भेट भएको कुनाहरू अर्को ४ वटा प्रमुख दिशा मानिन्छ । यसरी जम्मा आठवटा दिशा साथै कोणहरू हुन्छन् । यी आठ वटा दिशाको आ-आफ्नो देवताहरूको प्रमुख भूमिका हुन्छन् । तिनीहरूलाई निम्न अनुसार निर्धारण गरिन्छ ।
प्रमुख दिशाहरू र प्रमुख देवताहरू यस प्रकार छन् -
१.  पूर्व  दिशा - इन्द्र
२.  दक्षिण  दिशा -  यम
३.  पश्चिम दिशा - बरुण
४.  उत्तर  दिशा -  कुवेर
५.  ईशान कोण (उत्तर - पूर्व दिशा) - ईश्वर
६.  अग्नेय कोण (दक्षिण - पूर्व दिशा) - अग्नि
७.  नैऋृत्य कोण (दक्षिण - पश्चिम दिशा) -  दानव
८.  वायव्य कोण (उत्तर - पश्चिम दिशा) - वायु
 
नोट: घरको मध्ये बीचको भाग ब्रह्माको प्रमुख स्थान मानिन्छ । जसलाई ब्रह्माण्डका प्रमुख देवताको प्रतीकको रूपमा विश्वास गरिन्छ । यसरी एउटा घर बनाउने घडेरीलाई विभिन्न भागमा विभाजन भएअनुसार वास्तुशास्त्र जान्ने व्यक्ति (जसलाई वास्तुविज्ञ भनिन्छ) र डिजाइन गर्ने इन्जिनियरको एउटा सल्लाह वमोजिम विभिन्न आवश्यक कोठाको स्थिति निर्धारण निम्नाअनुसार गर्नुपर्दछ ।

(क) पूर्वतर्फ = नुहाउने कोठा                                                    
(ख) दक्षिण-पूर्वको बीचको भाग = तेल, घिउ आदिको भण्डार
(ग) दक्षिण-पूर्वतिर (अग्नेय कोण) = भान्छा कोठा                            
(घ) दक्षिण दिशा = सुत्ने कोठा
(ङ) दक्षिण वा दक्षिण-पश्चिमको बीच भाग = ट्वाईलेट                       
(च) दक्षिण-पश्चिमतिर (नैऋृत्य कोण) = औजार भण्डार गर्ने, कपडा राख्ने ठाउँ, कपडा फेर्ने ठाउँ
(छ) पश्चिमको वीच भाग = अध्ययन कोठा                                     
(ज) उत्तर-पश्चिमको बीच भाग = ट्वाइलेट  
(झ) उत्तर-पश्चिम कुना-वायव्य कोण) = अन्न भण्डार वा गोठ राख्न सक्ने
(ञ)  उत्तर दिशा = धन सम्पत्तिको कोठा      
(ट)  उत्तर दिशाको बीचको भाग = ध्यान गर्ने कोठा र (उत्तर-पूर्वको)   
(ठ)  उत्तर-पूर्व = पूजा कोठा, प्रवेश गर्ने ढोका
(ड)  उत्तर-पूर्व र पूर्वको बीचको भाग = मेडिटेसन गर्ने ठाउँ

घर वा भवनमा नवहग्रको स्थिति
वास्तुशस्त्रको सिद्धान्त अनुसार घर बनाएपछि त्यसमा नवग्रहहरूको उपस्थिति हुन्छन् । त्यसैले त्यहाँ बस्ने मानिसहरू समक्ष आफ्नो शुभ प्रभाव पर्नेछन् । सूर्यको स्थान पूजा कोठामा हुन्छ । ईशानकोण  (उत्तर-पूर्व कुनामा)  पूजा कोठा हुन्छ । पूर्वमा चन्द्रमाको स्थानः नुहाउने ठाउँ, दक्षिण-पूर्व कुना वा अग्नेय कोणमा भन्छा, दक्षिण-पश्चिममा मंगल, अगाडि बार्दली र घरको मध्यभागको ठूलो कोठामा बुधको स्थान हुन्छ । त्यस ठाउँमा व्यापार तथा अध्ययनको काम हुन्छ । उत्तर दिशामा (कोष) भण्डार विभिन्न किसिमको हुने भएकोले त्यस ठाउँमा बृहस्पतिको ठाउँ हुन्छ । यो ठाउँ ईशान कोणको दायाँ र बायाँ किनारामा हुनुपर्छ । यस्तै शुक्रको स्थान दक्षिण दिशा, दक्षिण-पश्चिम र पश्चिम किनारमा खाना खाने, आराम तथा सुत्ने कोठा हुन्छ । शनिको उपस्थिति पश्चिमतिर बनेको अंध्यारो कोठा र गोठमा हुन्छ । प्रवेश गर्ने ठाउँको राहु , केतु घरको चारैतिर हुन्छन् । तिनीहरूले सदैव त्यसको रक्षा गर्ने हुन्छन् ।

घरको कोणहरूको स्थिति
घडेरीको जग्गा स्वरूपमा विभिन्न कोणहरूको वस्तुस्थितिलाई सामान्य रूपमा देखाइएको छ । किनभने घरमा प्रवेशको लागि ढोका, भान्छा कोठा, ट्वाइलेट आदि घरकोे अगाडिको मोहडा कुन दिशातर्फ फर्केको छ । त्यसलाई विशेष आधार लिंदा फरक पर्न सक्छ । झनै भर्याङको स्थानले घरको परिस्थितिलाई असर पार्दछ । यसबाहेक प्रकृतिमा रहेको पञ्चतत्वहरू जसले विश्वमा रहेको जीवित प्राणीहरूलाई बनाउँदछन् । जमीन, आगो र पानी यिनीहरूलाई विशेष ध्यान दियो भने अरु हावा र आकाशले सबै प्रकारको अवस्थालाई अनुकूल बनाउँदछ ।

प्राचीन धर्मशास्त्र अनुसार घरको कोठाको शाब्दिक अर्थ
धर्मशास्त्रअनुसार कोठाहरूको आ-आफ्नो स्थानले आफ्नो महत्व दर्शाएको हुन्छ । त्यस्तै गरी हामीले पनि घर बनाउँदा सानो वा ठूलो घडेरीमा भरसक वास्तुशास्त्र अनुसार मिलाएर बनाउनु सके धेरै राम्रो हुन्छ । नुहाउने ठाउँ पूर्वमा, अग्नेय कोण (दक्षिण-पूर्वमा) भान्छा कोठा र सुत्ने कोठा दक्षिणमा हुनु राम्रो हो । दक्षिण-पश्चिम (नैऋृत्य कोण) मा कपडाहरूको राख्ने कोठा हो । पश्चिम दिशा खाना खाने ठाउँ तथा उत्तर-पश्चिम (वायव्य कोण) मा अन्न भण्डार र गोठको लागि उपयुक्त हुन्छ । उत्तर दिशामा द्रव्य भण्डार र विश्राम कोठा हुनु राम्रो हो । तर उत्तर-पूर्वमा ईशान कोण) मा भने पूजा कोठा हुनुपर्छ ।

यसरी माथि उल्लेखित गरिएको नियमलाई हामीले पालना गर्ने हो भने हावाको प्रवाह राम्रो हुनेछ । सूर्यको प्रकाश राम्रोसँँग पर्नेछ। दक्षिण-पश्चिमको भित्ता सूर्यको किरणको तीब्रतालाई सहन बाक्लो गारो लगाउनु र हावाको प्रवाहको लागि प्राप्त खुला ठाउँ छोड्नु पर्ने र ढोका पनि राख्नु राम्रो हुन्छ । दक्षिण-पश्चिमको दिशातिर बोटविरुवा रोप्नु राम्रो हुन्छ ।

वास्तुशास्त्रको सिद्धान्तहरूको लागू घर निर्माण र देव मन्दिरहरू मात्र नभई अफिस, होटेल, होस्टेल, उद्योग धन्दा गर्ने भवन फल्याटहरूमा पनि उत्तिकै महत्व हुन्छ । सम्बन्धित व्यक्तिहरूले वास्तुशास्त्रको ज्ञान भएको व्यक्तिसँग सल्लाह लिएर मात्र आफ्नो प्रयोगमा ल्याउनु राम्रो हुन्छ ।
      १) घर वा भवनको लागि शुभ कार्य : घर वा भवन बनाउँदा ३ वटा महत्वपूर्ण कार्य मानिन्छ ।
      २) घर वा भवन बनाउनको लागि शिलान्यास (जग पूजा)
      ३) घर वा भवनको मूलढोका (लगाउने दिन) पूजा
      ४) घर वा भवनमा बस्नको लागि घर पैँचो गर्ने काम (घर पैँचो पूजा)
नोट: जुन व्यक्तिले घर निर्माण गरेको हो । त्यो व्यक्ति आफ्नो जग्गामा घर बन्दा बन्दैको अवस्थादेखि उसलाई त्यसघरबाट कस्तो किसिमको फल प्राप्त हुन्छ भन्ने कुरा सपनामा र दैनिक रूपमा काम गर्दा पनि केही न केही सफलताको लक्षण प्राप्त हुन सक्छ । त्यो कुरा विचार गर्नुपर्दछ ।

घर बनाउँदै जाँदा घरधनीले देखिने राम्रो सपनाहरू
आफू अगाडि गाई देखिनु, कन्याकेटीहरू आउनु, फूल देखिनु, चन्द्रोदय, दही, दूधले भरिएको भाँडो, पानी, ध्यू, मूद्र्धा देखिनु हावामा उड्नु, नाङ्गो बालक देखिनु, हात्ती र रातो साडी लगाएको महिला देखिनुलाई राम्रो मानिन्छ ।

घर बनाउँदै जाँदा घरधनीले नराम्रो सपना देखिनु
बालेको आगो देखिनु, दाउरा देख्नु, रोगी व्यक्ति भेट्नु, झगडा गर्ने सन्यासी देख्नु, सुकेको घाँस, हड्डी धुँवा, बिरालो, सर्प,
भैसी, विधुवा, माझीको माछामार्ने जाल, कुकुर, झगडा गरेको र डण्डा बोकेको मान्छे आदि, इत्यादी नराम्रा सपनाहरू हुन् ।

नोट: कुनै समयमा घर बाहिर जानु अगाडि पूजा गरेको ठाउँमा बत्ती निभ्यो भने राम्रो सकेँत मानिदैन ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update