ढाका, कात्तिक १ । बलिउड अभिनेत्री नोरा फतेहीको ढाकामा हुने नृत्य कार्यक्रम रद्द भएको छ। श्रोतका अनुसार मितव्ययिता अपनाउन र डलरको बचत गर्न सरकारले उनको नृत्य प्रस्तुति सरकारले रोकेको हो। विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र विदेशी मुद्रा भण्डारलाई कायम राख्ने उद्देश्यले नोराको नृत्य प्रदर्शनीलाई अनुमति नदिएको बंगलादेशको संस्कृति मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ।
वुमन लिडरशीप कोर्पोरेशनको आयोजनामा हुने कार्यक्रममा नृत्य गर्न र अवार्ड वितरण गर्न नोरालाई ढाका आमन्त्रित गरिएको थियो। बंगालादेशको केन्द्रीय बैंकले डलरको बचत गर्न जारी गरेको ‘सर्कुलर’लाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ।
विश्वका केही देशहरू झैं बांग्लादेशको अर्थव्यवस्था पनि कमजोर स्थितिबाट गुज्रिरहेको र अहिले वैदेशिक मुद्रा भण्डार खस्किएर ३६.३३ अर्बमा पुगेको बताइएको छ।