Kath khabar
३ महिनामा सरकारको आम्दानी भन्दा ४६ अर्ब रुपैयाँ बढि खर्च

 

                काठमाडौं, कात्तिक १ ।  सरकारले चालु आर्थिक वर्षको ३ महिनामा २ खर्ब ३२ अर्ब रुपैयाँ आम्दानी र २ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । ३ महिनामा जम्मा ५ प्रतिशत विकास खर्च भएको छ ।

चालु आर्थिक वर्ष २०७९-८० का लागि सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत बजेट अर्थात् विकास बजेट विनियोजन गरेकोमा साउन, भदौ र असोजमा जम्मा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ । यो वर्ष साउनभित्रै कार्यविधि बनाउने, नियमावली संशोधन गर्ने लगायतका कानुनी प्रक्रिया पूरा गरेर समयमै बजेट खर्च गर्ने दाबी गरे पनि पुरानै प्रवृत्ति दोहोरिएको छ ।

तर चालु खर्च भने लक्ष्यअनुसार नै भइरहेको छ । ११ खर्ब ८३ अर्ब रुपैयाँको चालु बजेटमध्ये ३ महिनामा २ खर्ब २३ अर्ब रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब रुपैयाँ विनियोजन भएकोमा ३ महिनामा ३४ अर्ब ७३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । समग्रमा ३ महिनामा २ खर्ब ७८ अर्ब १६ करोड अर्थात् १५.९१ प्रतिशत बजेट खर्च भएको छ ।

यस्तै सरकारले यो वर्ष १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखेकोमा ३ महिनामा २ खर्ब ८ अर्ब ५८ करोड रुपैयाँ उठाएको छ । यो कुल लक्ष्यको १४.८७ प्रतिशत हो । असुल भएकोमध्ये कर राजस्वबाट १ खर्ब ८९ अर्ब ३८ करोड र गैर-कर राजस्वबाट १९ अर्ब २० करोड रुपैयाँ सङ्कलन गरेको छ ।  

यस्तै ५५ अर्ब ४५ करोड रुपैयाँको अनुदानको लक्ष्य लिइएकोमा ३ महिनामा ७९ करोड रुपैयाँ प्राप्त भएको छ । यो अवधिमा अन्य आम्दानीबाट २२ अर्ब ७४ करोड रुपैयाँ आम्दानी भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update