काठमाडौं, कात्तिक २। नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ। सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको २ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ । त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।
तर जहानिया राणा शासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो । वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो ।
त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो । यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।
वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो ।
चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं. २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
नेपालमा चिया खेतीको शुरुवात आजभन्दा १५४ वर्ष अघिदेखि भएको भएता पनि कृषकस्तरमा यसको खेती वि.सं. २०३५ सालदेखि भएको हो । नेपालमा व्यवसायिक चिया खेती मुख्यतः पूर्वाञ्चलका केहि जिल्लाहरूमा भएको भएता पनि हालका वर्षहरूमा मध्यमाञ्चलका पहाडी जिल्लाहरूमा पनि साना कृषकस्तरमा यसको बिस्तार भइरहेको छ ।
चियाका जातहरु :
१. असामी जात :
यो जात तुलनात्मक रुपमा गर्मी क्षेत्रमा हुने जात हो । यसमा ठूला पात हुन्छन् । यसको पात तल झुकेको राम्ररी नासा देखिने हुन्छन् । यसबाट सि.टि.सी. चिया उत्पादन गरिन्छ ।
२. चिनियाँ जात :
यो जातको चिया बोट केही अग्लो हुने, बढी उचाईका क्षेत्र तथा कम तापक्रममा राम्रो हुन्छ । रातो र ङ्गका हाँगा गाढा हरियो पात, साना पात हुने चिया हो । अर्थोडक्स चिया यसै जातबाट बनाइन्छ । नेपालको पहाडी क्षेत्रमा यसको खेती गरिन्छ ।
माटो :
चियाको लागि पानी अड्याउने क्षमता भएको पानी नजम्ने र निकासको व्यवस्था भएको कम्तिमा १ मिटर गहिरो, प्रशस्त प्राङ्गारिका पदार्थ भएको मलिलो बलौटे दोमट माटो उपयुक्त हुन्छ । चियाले अम्लीय माटो मन पराउने भएकोले यसको खेती ४ देखि ६.५ पि.एच.सम्मको माटोमा गर्न सकिएता पनि ४.५ देखि ५.५ पि.एच. मान भएको माटो उपयुक्त हुन्छ ।
हावापानी :
चिया खेतीको लागि वार्षिक १२०० देखि १५०० मि.मि. भन्दा बढी वर्षा हुने तथा १२ देखि ३० डि.से. तापक्रम हुने क्षेत्र उपयुक्त मानिन्छ । वार्षिक वर्षा २५००-३००० मि.मि. र वार्षिक औषत तापक्रम १८-२० डि.से. हुने स्थान चियाको लागि साह्रै उत्तम हुन्छ । समुद्र सतहदेखि २२०० मिटरसम्म पनि खेती गरेको पाइन्छ । चियाको लागि कम्तिमा दिनको ५ घण्टा सिधा घाम लाग्ने अथवा ११ घण्टा अप्रत्यक्ष घाम लाग्ने ठाउँ राम्रो हुन्छ नेपालको सन्दर्भमा सि.टि.सि. चियाको लागि समुद्री सतह देखि ५००-१००० मीटर उचाई र अर्थोडक्स चियाको लागि १०००-२००० मि. उचाई राम्रो मानिन्छ ।
क्रमश :