काठमाडौं, कात्तिक ४। कमेडियन अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले बिहीबार अढाई लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ ।
उनका कानुन व्यवसायी अधिवक्ता शान्तिराम खतिवडाले रिहाइको प्रक्रिया टुंग्याएका थिए । नेवार समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो। विरोधपछि सिंहले उक्त व्यंग्य मार्फत कसैलाई पनि चोट पुर्याउने मनसाय आफ्नो नभएको बताउँदै उनले युट्युबबाट सो भिडियो हटाएर फेसबुकमार्फत् माफी समेत मागेका थिए ।
धरौटीमा रिहा भएपछि अपूर्वले आँखाभरी आँसु पार्दै अब मलाई बोल्न पनि डर लाग्न थालेको छ भनेका छन् । टर्चर भएपछि बाहिर निस्किदा पनि खोजेरै मार्छन् कि के हो भनेर डर लाग्दो रहेछ, मैले त सामाजिक रुपमा माफी पनि मागिसकें, भिडियो पनि डिलिट गरिसकें । यहाँभन्दा मैले गर्न सक्ने केही छैन । उनले मलाई काठमाडौंमा बस्न पनि डर लाग्छ भनेका छन् । उनले कमेडी चाँहि नछोड्ने तर स्टेज चढ्न भने केहि समय लाग्ने बताएका छन् ।