काठमाडौं, कात्तिक ४। चियाको उत्पत्ति र इतिहास : चियाको उत्पत्ति पूर्वी एशिया खासगरी उत्तरी बर्मा र चिनको दक्षिण–पश्चिम क्षेत्रको सीमाना निरबाट भएको विश्वास गरिन्छ । चिनको युनान प्रान्तमा शाङ्ग वंशको पालादेखि औषधीको रुपमा चिया पिउने प्रचलन शुरु भएको पाइन्छ । चिनिया किम्बदन्दीका अनुसार चियाको आविस्कार इशापूर्व २७३७ मा तत्कालीन सम्राट सेनोङ्गले गरेका थिए । त्यसपछि इस्वी सम्बत ६१८ देखि ९०६ सम्मको ताङ्ग वंशको बेलामा चियालाई स्वाद र स्फुर्तिको लागि सेवन गर्ने थालियो । इ.स. ८०५ मा साइचो नामक बौद्ध भिक्षुले चियालाई चीनबाट जापान लगेका थिए ।
त्यसैगरी सोह्रौ शताब्दीमा पोर्चुगाली पुजारी र ब्यापारीहरुले चियालाई पश्चिमी देशहरुमा पुर्याएका थिए र सत्रौं शताब्दीमा बेलायतीहरु माझ चियाले लोकप्रियता पाएको देखिन्छ । भारतमा भने ब्रिटिश इष्ट इन्डिया कम्पनीले चीनबाट चियाका बोटहरु झिकाई ब्यवसायिक खेती शुरु गरेको पाइन्छ । सन् १८४८ मा स्कटिश वनस्पतिविज्ञ रोबर्ट फच्र्युनलाई चीन पठाएर गोप्य रुपमा चिया तस्करी गरेर ल्याउन लगाइएको थियो । उनले त्यतिखेर पूर्वी चीनबाट भारतको दार्जिलिङ्गमा हजारौं चियाका बोटहरु र बीउ ल्याएका थिए । इष्ट इन्डिया कम्पनीले उक्त चीनबाट केही तालिम प्राप्त कृषकहरुलाई समेत भारत ल्याएर चिया खेती र प्रशोधन सम्बन्धी ज्ञानको आदान प्रदान गराएको थियो । त्यसपछि दार्जिलिङ्ग र आसाम क्षेत्रका जङ्गल फडानी गरी ठूला पात र सानो पात दुबै खाले चियाको खेती शुरु गरिएको थियो । सैयौ वर्षको यस अवधिमा चिया प्रशोधनका विविध तरीका र विभिन्न खालको चियाको विकास भएको पाउन सकिन्छ ।
ताङ्ग वंशको पालामा चियालाई पहिले बफ्याइन्थ्यो र त्यसपछि त्यसलाई बेसरी पिटेर केकको आकार दिइन्थ्यो जवकि सोङ्ग वंशको पालामा खुल्ला चियाको विकास भयो र लोकप्रिय समेत भयो । युआन र मिङ्ग बंशको बेलामा अक्सिडाइज नगरिएको चियाको पत्तिलाई पहिले प्यान फ्राइ गरिन्थ्यो र त्यसपछि रोलिङ्ग र ड्राइङ्ग गरिन्थ्यो । यसले गर्दा चियाको अक्सिडेशन हुन पाउदैनथ्यो र चिया हरियो रहन्थ्यो । पन्ध्रौ शताब्दीमा प्यान फ्राइ गर्नु अघि चियालाई हल्का अक्सिडेशन गरेर तयार गरिने ओलङ्ग चियाको विकास भयो । पश्चिमेलीहरुले भने पूर्णत : अक्सिडेशन गरिएको ब्ल्याक टि मन पराए । एलो टी को विकास भने मिङ्ग बंशको पालामा ग्रीन टी उत्पादन गर्ने क्रममा झुक्किएर भएको थियो ।
विश्वमा चिया खेतीको वर्तमान अवस्था : चिया संसारकै पुरानो पेय पदार्थहरु मध्ये पर्दछ । संसारका प्रायजसो मानिसले चिया पिउने गर्दछन् । सन् २०१३ मा विश्वभरमा ५० लाख ६४ हजार मेट्रिक टन चिया उत्पादन भएको थियो । जसमध्ये लगभग ३४ प्रतिशत उत्पादन चीनमा भएको थियो । चियाको उत्पादन प्रत्येक वर्ष २ देखि ४ प्रतिशतले भइरहेको छ । चीन पछिको दोस्रो ठूलो उत्पादक राष्ट्र भारत हो । चियाको प्रमुख निर्यातकर्ता देशहरुमा केन्या, चीन, भारत, श्रीलङ्का, टर्की पर्दछन् भने प्रमुख आयातकर्ता देशहरुमा बेलायत, अमेरिका, रसिया, जर्मनी र पाकिस्तान पर्दछन् ।
पिउने चियाका प्रकारहरु : नेपालमा दुई प्रकारका चियाहरु उत्पादन गर्ने गरिन्छ । सि.टि.सी. र अर्थोडक्स । सि.टि.सी अर्थात Crush tear curl चिया एक प्रकारको प्रशोधन पद्धति हो जसमा धुलो पार्ने (क्रस), च्यात्ने (टियर) र बटार्ने (कर्ल) गरी ३ वटा चरणहरु अपनाइन्छ । अर्थोडक्स चियाको तुलनामा सि.टि.सी. चियाको रङ्ग बढी कडा तर बासना भने कम हुन्छ । नेपालमा झापा जिल्ला र इलामका केही स्थानहरुमा सि.टि.सी. चिया उत्पादन गरिन्छ । अर्थोडक्स चिया अर्को किसिमको प्रशोधन पद्धति हो जसमा चियाको पातलाई हातैले माडेर अथवा हातले माडेजस्तो मिल्दो जुल्दो हुने गरी मेशिनद्वारा रोलिङ्ग गरिन्छ । विभिन्न किसिमका स्पेशियलिटी टीहरु जस्तै ग्रीन टी, ह्वाइट टी, एलो टी र हस्तनिर्मित टी हरु यसै अन्तरगत पर्दछन् । नेपालमा १००० देखि २००० मीटरको पहाडी भुभागमा अर्थोडक्स चिया उत्पादन गरिन्छ । अर्थोडक्स चियाका पनि प्रशोधन विधि अनुसार विभिन्न प्रकारका चियाहरु हुन्छन् । नेपालमा मूख्यगरी अर्थोडक्स ग्रीन, अर्थोडक्स ब्ल्याक, ह्वाइट र ओलङ्ग चियाहरुको उत्पादन गर्ने गरिन्छ ।
ग्रीन टि : ग्रीन टी तयार गर्नको लागि ताजा पत्तिलाई संकलन गर्ने वित्तिकै तुरुन्तै प्यान फ्राई गरेर त्यसभित्र भएको फर्मेन्टेशन गर्ने इन्जाइमलाई नष्ट गरिन्छ र त्यसपछि सुकाइन्छ । यसमा क्याफिनको मात्रा निकै कम हुन्छ र रङ्ग पनि हल्का हुन्छ । ग्रीन टी तयार गर्दा फर्मेन्टेशन (अक्सिडेशन) हुन दिइदैन ।
ओलंग टि : यो चिया ब्ल्याक टी भन्दा नरम र ग्रीन टी भन्दा कडा हुन्छ । यसमा केही मात्रामा फर्मेन्टेशन प्रकृया अपनाइन्छ । यो चिया विशेषगरी चिनियाहरु मनपराउँछन् ।
ह्वाइट टी : ह्वाइट टी को लागि १ पात र १ सुइरो टिपिन्छ र त्यसलाई स्टिमिङ्ग गरेर वा लामो समयसम्म वेदरिङ्ग ट्रफमा ३० देखि ३५ डिग्रीको तापक्रममा लामो समयसम्म सुकाएर तयार गरिन्छ । यो चिया पनि फर्मेन्टेशन नगरिएको चिया हो । यसको मूल्य ग्रीन टी को भन्दा बढी हुन्छ । यस प्रकारको चिया हेर्दा सेतो पन धेरै देखिनुका साथै तातो पानीमा भिजाउदाको रङ्ग सादा पानी सँग मिल्दो जुल्दो हुन्छ तर पिउदा अत्यन्त स्वादिलो हुन्छ । यसलाई सिल्भर निडिल पनि भन्ने गरिन्छ ।
ब्ल्याक टि : उच्च फरमेन्टेसन विधिद्धारा तयार गरिने चियालाई ब्ल्याक टी चिया भनिन्छ । हरियो पत्तीलाई वेदरिङ ट्रफमा १२ घण्टा सम्म राखेर कहिले चिसो त कहिले ३० देखी ३५ डिग्रिको ताप दिएर ७०% सम्म ओइलाउने गरिन्छ । वेदरिङ भएको चियालाई रोलरमा राखि सकेसम्म टुक्रिन नदिइ रोलिङ गरिन्छ । रोलिङ भइसकेकाके चियालाई सफा भुईमा या गन्ध रहित मान्द्रोमा एक इन्चको मोटाइमा फिजाएर आवश्यक समयसम्म फरमेन्टेसन गरिन्छ । यस प्रकृयामा चियाले आफ्नो गुणमा परिवर्तन गर्ने र गन्धहरु पनि लिने भएकोले सावधानीको अत्यन्त जरुरी पर्दछ । फर्मेन्टेशन प्रकृयामा पातको रङ्ग खैरो भएपछि ड्रायरको सहयोगमा २५ देखि ३५ मिनेटको समय भित्र सुकाइन्छ ।
प्योर टि वा ब्रीक टि : यो चिनमा बन्ने गरेको विश्वकै महंगो चिया हो । यस प्रकारको चिया बनाउदा हरियो चिया पत्तिलाई वेदरिङ्ग गरी रोलिङ्ग गरिन्छ र विशेष खालको साँचोमा ठूलो दबाब दिएर रोटी वा इटाको जस्तो आकार दिइन्छ । अन्तमा ड्राइङ्ग गरी विशेष खालको भाँडोमा राखी एजिङ्ग गरिन्छ । यसको एजिङ्ग वाइनको जस्तो जति बर्ष लामो अवधि गरिन्छ त्यसको आधारमा मुल्य निर्धारण हुन्छ ।