Kath khabar
कुल वस्तु निर्यात ३४ दशमलव नौ प्रतिशतले कमी



               काठमाडौं, कात्तिक ४। कुल निर्यात व्यापारमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक वर्षको दुई महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ३४ दशमलव नौं प्रतिशतले कमी आई २८ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु आयात १३ प्रतिशतले कमी आई दुई खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव नौं प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौं दशमलव पाँच प्रतिशत, १३ दशमलव तीन प्रतिशत र २० दशमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाबिन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ  । आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा नौ दशमलव चार प्रतिशतले कमी आई दुई खर्ब ४४ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको भएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update