ललितपुर, कात्तिक ४। मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. २ बाट लौरो चिन्हबाट उम्मेदवारी दिनुभएका उम्मेदवार डा. सुदिन शाक्य पेशाले दन्त चिकित्सक हुनुहुन्छ ।
वि.सं २०३३ सालमा ललितपुरको वडा नं ११ तलाँछे नामवहालमा जन्मिनुभएका डा. सुदिन शाक्य सानै उमेरदेखि समाजसेवीको रुपमा परिचित हुँदै आउनुभएका अब्बल व्यक्ति हुनुहुन्छ ।
उच्च राजनैतिक चेतना तथा समाजसेवाको भावनाका भएका डा. सुदिनले वि.स. २०४८ सालको एस.एल.सी. पछि समाजसेवाको भावनाबाट प्रेरित भएर आफ्नो पढाई दन्त चिकित्सा क्षेत्रमा अगाडि बढाउनुभयो । फिलिपिन्सबाट पढेर नेपाल फर्किनुभएका उहाँले रोटरी क्लवमा जोडिएर समाजसेवामा समेत सक्रिय हुनुभएको थियो । साउथ वस्टर्न युनिर्भसिटी सिबुसिटी फिलिपिन्सको दिक्षान्त समारोहमा बेस्ट फरेन स्टुडेन्ट अर्वाड पाएसँगै डिग्री लिएर नेपाल फर्किनुभएका शाक्य नेशनलल डेन्टल अस्पतालको डाक्टर हुदै कार्यकारी निर्देशकसम्म बन्नुभयो । उहाँले देशभर मुख दन्त तथा स्वास्थ्य जनचेतना फैलाउने काम गर्दै समाजसेवामा लागी रहनुभयो ।
नेपालको विभिन्न राजनैतिक घटनाक्रमलाई विश्लेषण गर्ने क्षमता भएका डा.सुदिनले जनयुद्धको समयमा पनि देशका विभिन्न स्थानमा अनेकन स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै प्रसिद्धि कमाउनुभएका उहाँले करिब १५० वटा भन्दा बढि दन्त तथा स्वास्थ्य र जनचेतनामुलक शिबिरहरु सञ्चालन गरी एक लाख भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने कार्य गरी पुण्य कमाउनुभएको छ।
नेपाल मेडिकल काउन्सिलको पदेन सदस्य समेत रहनुभएका उहाँले आफ्नै कार्यकालमा पहिलो अन्तराष्ट्रिय डेन्टल सम्मेलन गरी देश तथा विदेशमा समेत दन्त क्षेत्रमा विभिन्न योगदान पुर्याउनुभएको थियो। संसारभरका २५ भन्दा बढि मुलुकको अध्ययन अनुसन्धान भ्रमण गरी अन्तराष्ट्रिय जगतमा समेत ख्याती कमाउनुभएका डा.सुदिनले आफ्नो प्रतिवद्धता यसरी व्यक्त गर्नुहुन्छ -
१) सामाजिक विकासको लागि सामाजिक समन्वयको अवधारणा अनुसार कार्य गरिनेछ । भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मलीकरण गर्ने तर्फ विशेष पहल गरिनेछ ।
२) खानेपानीको क्षेत्रमा वास (WASH) क्षेत्रसँग सम्बन्धित कार्य जस्तै खानेपानी, स्वस्थकर खाना, प्रदुषण, ढल निकास आदिको व्यवस्थापन र नीतिगत पैरवीको लागि पहल गरिनेछ ।
३) ललितपुर क्षेत्र नं २ मा ४ वटा सुसम्पन्न शहरी स्वास्थ्य केन्द्र स्थापना गरिनेछ । न्यूनतम शल्कमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी प्रबन्ध मिलाइनेछ । दीर्घ रोगीहरुको लागि समेत विशेष प्रकारको उपचार केन्द्र र परामर्श केन्द्रको स्थापना गरिनेछ ।
४) ललितपुर क्षेत्र नं २ सांसद स्वास्थ्य सेवा अक्षय कोषको स्थापना गरिनेछ । यस कोषको आम्दानीबाट पाटन अस्पतालमा गरीब, निमुखा, विपन्न र पैसा तिर्न नसकेर उपचारबाट बञ्चित बिरामीको लागि १ लाख नेपाली रुपैयासम्म सिफारिसको आधारमा उपचार सुविधा खर्च दिइनेछ ।
५) 'ललितपुर क्षेत्र नं २ सासद शिक्षा अक्षय कोष' को स्थापना गरिनेछ जसको आम्दानीबाट ललितपुर क्षेत्र नं २ मा सामुदायिक विद्यालयबाट एसईई पास गरेका विभिन्न कारणवश अध्ययनबाट वञ्चित विद्यार्थीहरुका लागि शिक्षा सहयोग सुविधा दिइनेछ ।
६ं) ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक, सांस्कृतिक एवम् मूर्त अमूर्त सम्पदाको संरक्षणको लागि विशेष पहल गरिनेछ ।
७) सडक, बाटोघाटो निर्माण तथा स्तरोन्नतिमा विशेष पहल गरिनेछ । हाल नै समस्याको रूपमा रहेको महालक्ष्मी न.पा वडा नं ८ स्थित महालक्ष्मी मन्दिर र भगवती मन्दिर बीचको साँघुरो बाटो विस्तारको कार्य स्थानीय भावनालाई सम्बोधन गर्ने गरी व्यवस्थापन गरिनेछ ।
८) भ्रष्टाचार न्यूनीकरणको पहल स्वरूप सरकारी निकायमा हुने कर, सिफारिस दस्तुर र सम्पत्तिको कारोबारमा व्यापक अनियमितता हुने भएकोले डिजिटल पेमेन्ट सिस्टमलाई अनिवार्य प्रयोगमा ल्याउन पहल गरिनेछ । कर तिर्नु पर्ने अवस्थालाई सरलीकरण तथा सहजीकरण गर्न पहल गरीनेछ ।
९) ललितपुरमा गठित करीब विभिन्न (हाल करिब २२ वटा) जातीय समाजहरुसँगको सहकार्यमा पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने चाडपर्व , गुठी, नाच, बाजागाजा तथा अन्य कार्यक्रमको जगेर्नाको लागि महानगर र नगरपालिकासँगको समन्वयमा उचित व्यवस्था मिलाइनेछ ।
१०) पाटनमा रहेका करीब ५५ वटा ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र सुधारको व्यवस्था मिलाइनेछ ।
११) विभिन्न ऐतिहासिक सम्पदाको जिर्णोद्धारको लागि 'हाम्रो सम्पदा हामी बचाउँछौ' नीति अवलम्बन गरिनेछ । ललितपुरका भित्री भागहरूमा ठूला घरहरुको खुल्ला भित्ताहरुमा वा लहरै एकै किसिमका घरहरुको बाहिरी भित्तामा सांस्कृतिक र परम्परागत महत्व झल्किने भित्ते चित्र बनाउन स्थानीयसँग मिलेर पहल गरिनेछ ।
१२) खाद्य सुरक्षालाई मध्यनजर गरी उपयुक्त स्थानको पहिचान गरी खेतीयोग्य जमिनको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइनेछ । यसका अतिरिक्त कृषि उत्पादनको बेचबिखन बजारलाई स्वच्छकर रुपमा विस्तार गरिनेछ र यस्ता बजारमा कृषि उत्पादन चिस्यान केन्द्र थप गर्ने कार्यक्रम ल्याइनेछ ।
१३) हरियाली पार्क, पोखरी, विहार जस्ता खुल्ला स्थानहरुलाई उद्धार केन्द्रको रुपमा विकास गरी विपद्को बखत प्रयोग गर्न मिल्ने गरी पूर्वाधारको विकास गरिनेछ ।
१४) ललितपुर जिल्लामा अहिलेसम्म पनि जिल्ला अस्पतालको रुपमा कुनै अस्पताल नतोकिएकोले ग्रामिण क्षेत्रको आवश्यकतालाई समेत ध्यान राखेर ललितपुर जिल्लामा जिल्ला अस्पताल निर्माणको लागि पहल गरिने तथा जिल्ला आयुर्वेद अस्पताल निर्माणका लागि समेत नेपाल सरकार र दातृ निकायसँग विशेष पहल गरिनेछ ।
१५) ललितपुरका निश्चित क्षेत्रलाई टेक्सटाइल भिलेजको रुपमा विकास गर्न र नेवारी खाजालाई ग्याष्ट्रोनोमी अध्ययन अनुसन्धान गरी अन्तराष्ट्रिय बजारीकरण गर्न विशेष पहल गरिनेछ ।
१६) ललितपुरमा सभा सम्मेलन गर्न अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्रको स्थापनाको लागि पहल गरिनेछ । यसका साथै बढि भन्दा बढि पर्यटक भित्रयाउनको लागि तारे होटलहरुको निर्माणको लागि लगानीकर्तालाई अभिप्रेरित गर्ने र होमस्टे तथा थप पर्यटकिय स्थल निर्माण कार्यलाई प्राथमिकता दिइनेछ । यसको लागि भित्री बाटोघाटोको सुधार र नियमित सरसफाई जस्ता कार्यलाई प्राथमिकतामा राखिनेछ । जसका कारण रोजगारी वृद्धिमा समेत बल पुग्नेछ । यसका अतिरिक्त रोजगारी वृद्धिको लागि अन्य कार्यक्रमहरु अघि बढाईनेछ ।