Kath khabar
निर्वाचन सम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार घोषणा


             काठमाडौं, कात्तिक ५। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको हो।

टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगाना [email protected] मा कात्तिक ५ गतेदेखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ। उत्कृष्ट पाँच भिडियोलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गरिने आयोगले जनाएको छ ।

यसका लागि प्रतियोगीहरूले देहाय बमोजिमका शर्तहरु पालना गर्नुपर्ने छ -

  • भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनु पर्नेछ ।
  • भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
  • भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।
  • निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
  • कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ ।
  • प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ ।
  • तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।
  • उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।
  • उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००/- (पचास हजार ) पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ ।
  • भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
  • आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update