Kath Khabar
राजेन्द्र लिङदेनको निस्वार्थ भावनबाट प्रेरित भएर उहाँसँगै काम गर्ने इच्छा जागेकोले म राजनीतिमा लागेको हुँ -

           

                ललितपुर, कात्तिक ६। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनुभएका ललितपुर क्षेत्र नम्बर-२ का रघुबर राज थापा ललितपुर जिल्ला कार्य समितिको सचिव तथा पूर्व सेनाको महासेनानी हुनुहुन्छ।

कलेजमा अध्यापन क्षेत्रमा आफ्नो सेवा दिइरहनु भएका थापाले हाल भने ब्रेक लिनुभएको छ। नेपाली सेना जस्तो गरिमामय संस्थाबाट अवकाश प्राप्त गरी अझै पनि देश र जनताकै सेवामा लाग्नुभएका थापासँग काठ संवाददाता विमल कुमार केसीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

तपाई आफ्नो मतदातालाई कसरी चिनाउनुहुन्छ ?
म राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता, ललितपुर जिल्ला कार्यसमितिको सचिव, पुर्वसेनाको महासेनानी हुँ ।

तपाईको यो क्षेत्रमा उम्मेदवारी किन ?
म राजनीतिमा त्यति चासो राख्ने व्यक्ति त हैन तर अहिलेको समसामयिक परिस्थितिले आम नागरिक दु:खी हुनु स्वभाविक हो र यसमा म पनि दु:खी छु । त्यसैले देशको अवस्थालाई सुधार गर्न केहि गर्न सकिन्छ कि भनेर लागिपरेको छु । अर्को कुरा राजेन्द्र लिङदेनको निस्वार्थ भावनबाट प्रेरित भएर उहाँलाई सघाउनको लागि उहाँकै साथमा रहेर काम गर्ने इच्छा पनि जागेकोले म राजनीतिमा लागेको हो ।  

तपाईलाई भोट किन हाल्ने ? (प्रतिवद्धता)
मैले बारम्बार भन्दै आइरहेको छु, अब हाम्रो चुनावी एजेण्डामा पनि यी कुराहरु उल्लेख गरिएको छ। मुख्य कुरा देश जसरी उधोगतिमा चलिरहेको छ, जस्तै भ्रष्टाचारका कुरा भनौ, देशको वैदेशिक लोनका कुराहरु, व्यापार घाटाका कुराहरु, मलका कुराहरु, हुँदा हुँदा न्यायालय, अख्तियार जस्ता र सम्पति शुद्धिकरणजस्ता कुरामा पनि राजनीतिक हस्तक्षेप चलिरहेको छ । यो ओरालो लागिरहेको देशलाई चाहिँ पहिले रोक्नु‌पर्छ भन्ने नै मेरो ठूलो योजना भएको छ । त्यस बाहेक व्यवस्थापिका विकास सांसदमा भएका  कति असमान सन्धी सम्झौताहरुलाई एकचोटि पुनरावलोकन गर्न र समय सापेक्ष यसलाई खारेज गर्नको लागि पनि जनताहरूले, आम कार्यकर्ताहरुले भोट दिनुहुन्छ भन्ने मलाई विश्वास छ ।

जित्नुभयो भने के गर्नुहुन्छ ? (अपेक्षा)
यो क्षेत्रमा आएपछि मुख्य त मैले भष्ट्राचार रोक्ने कार्यमा पहल गर्छु र अहिलेको आर्थिक अवस्थालाई हाम्रो यहाँ भएको स्रोत साधनको अत्याधिक प्रयोग गरेर उत्पादकत्व बढाउने, वैदेशिक लोनलाई घटाउनको लागि आर्थिक उत्पादन गर्ने, वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने, यो कुराहरू नै प्रमुख रहन्छन्।  

तपाईको प्रतिद्धन्द्धि को ? उहाँलाई सन्देश !
हाम्रो प्रतिद्वन्द्धि अहिले गठबन्धनबाट विगतमा एमालेबाट सांसद हुनुभएको कृष्णलाल महर्जन हुनुहुन्छ । उहाँ अहिले समाजवादि पार्टीबाट हुनुहुन्छ भने नेकपा एमालेबाट प्रेम महर्जन हुनुहुन्छ। उहाँहरुले बारम्बार यो सरकारमा गईसक्नु भएको छ तर उहाँहरुले पनि देशको अवस्थालाई बुझेर एकचोटी राजेन्द्र लिङदेनको कुराहरु हृदयंगम गर्नुहुन्छ भन्ने मलाई लाग्छ । मेरो उम्मेदवारीलाई उहाँहरुले सहजै लिनुभएको होला, एकचोटि चुनावी प्रसंग तथा देशको परिस्थितिको बारेमा उहाँहरुसँग बसेर छलफल गर्ने प्लाटफर्म पाए सजिलो हुने थियो ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update