काठमाडौं, कात्तिक ७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओमिक्रोनको सव-भेरियन्ट (XBB) नेपालमा पहिलोपटक पहिचान भएको बताएको छ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि उक्त सबभेरियन्ट भेटिएको बताएको हो । हाल यो भेरियन्ट विभिन्न देशहरुमा फैलिरहेको र कोरोनाको संक्रमण पनि बढिरहेको देखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
गत साउन २१ देखि असोज १४ गते कोभिड-१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गर्दा उक्त भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ । तसर्थ चाडवाडको समयमा जमघट बढि हुने भएकोले कोभिड-१९ तिब्रगतिमा फैलिन सक्ने सम्भावना उच्च रहेको बताउदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन अनुरोध गरेको छ ।