काठमाडौं, कात्तिक १३। कात्तिक १३। हिट फिल्ममा ह्याट्रिक गरिसकेका प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ले पहिलो दिन १ करोडको ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड छोप्यो । २ दिनमै साढे २ करोड ग्रस कमाई गरेको फिल्मले आइतवार छठको विदामा पनि एक करोड कमाउने आँकलन छ । किनभने, आइतवार विहानैदेखि देशभरका मल्टीप्लेक्स र सिंगल स्क्रिनहरुमा फिल्म हाउसफुल छ । फिल्मको कमाईको गति हेर्दा पहिलो हप्तामै निर्माताको लगानी सुरक्षित हुने देखिन्छ ।
नेपाली फिल्मलाई कमाईको हिसाबमा चाडपर्वको विदा फलिफाप सिद्ध हुने गरेका छन् । यस वर्ष दशैं र तिहारमा प्रदर्शन भएका फिल्मको सफलताले पनि यो प्रमाणित गर्छ । दशैंका २ फिल्म ‘प्रेमगीत ३’ र ‘दुई नम्बरी’ व्यापारिक रुपमा सफल हुँदा तिहार छेकोमा रिलिज भएको ‘के घर के डेरा’ र छठको विदा छोपेर प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ बक्सअफिसमा चम्किएको छ । अपेक्षित केही फिल्म नचलेपनि यो बर्षको सातौ महिना चलिरहँदा दर्शकले नेपाली फिल्मप्रति उत्साह देखाएका छन् । अझ, पारिवारिक फिल्ममा दर्शकको भीड लागेको देखिन्छ ।
काठमाडौं, चितवन र पूर्वाञ्चलको प्रिमियरमा वाहवाही कमाएको ‘महापुरुष’ले प्रदर्शनको पहिलो दिनदेखि आक्रामक कमाईलाई यथावत् राखेको छ । काठमाडौं र मोफसलका सिंगल स्क्रिन तथा मल्टीप्लेक्समा दर्शकहरुको चाप उच्च देखिएको छ भने बलियो ‘वर्ड अफ माउथ’ले हल पुग्ने दर्शकको संख्या बढ्दो छ । विशेषगरि परिवारसहित फिल्म हेर्ने दर्शकहरुको संख्या उल्लेख्य छ ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली,रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई लगायतका कलाकारले अभिनय गरेका ‘महापुरुष’को इनिसियल व्यापार आक्रामक हुनमा तीन ठाउँको प्रिमियरमा मिलेको जबर्जस्त प्रतिक्रिया, बलियो स्टारकास्ट, ट्रेलरले बढाएको कौतुहलता, आक्रामक प्रचारको ठूलो योगदान छ । अब भने फिल्मले ‘वर्ड अफ माउथ’को आधारमा बक्स अफिसमा आफ्नो यात्रा कोर्नेछ । हरेक वर्गका दर्शकबाट उम्दा प्रतिक्रिया मिलेका कारण यो फिल्मले लामो यात्रा गर्ने सम्भावना बलियो छ ।
आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘लाखे’लाई छाड्ने हो भने, नेपाली फिल्मले सात महिना सुखद तरिकाले बिताएको छ । अपेक्षित केही फिल्म नचलेपनि यो बर्षको सातौ महिना चलिरहँदा दर्शकले नेपाली फिल्मप्रति उत्साह देखाएका छन् । अझ, पारिवारिक फिल्ममा दर्शकको भीड लागेको देखिन्छ ।
यो बर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’ले ‘केजीएफ २’सँग जुधेका कारण अपेक्षित व्यापार गरेन । तर, फिल्मले निर्मातालाई घाटा हुन दिएन । जेठमा रिलिज भएको फिल्म ‘कबड्डी ४’को ऐतिहासिक व्यापारको रेकर्ड तोड्न अब कुन फिल्मले सक्छ थाहा नभए पनि यो फिल्म बर्षकै ब्लकबस्टर हुने देखिएको छ ।