Kath khabar
गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु, करिब ६० जना अझै बेपत्ता


              भारत, कात्तिक १४। गुजरातको मोरबीमा पुल भत्किँदा १३२ जनाको मृत्यु भएको छ । गुजरातको मोरबीमा रहेको माछु नदीमा रहेको झण्डै सय वर्ष पुरानो पुल आइतबार साँझ भत्किएको हो। अधिकारीहरुका अनुसार उक्त पुल भत्किँदा त्यसमा उभिरहेका धेरै मानिसहरु पानीमा डुबेका थिए । 

यस दुर्घटनामा हालसम्म १३२ जनाको मृत्यु भएको पुष्टि भएको छ । १७७ जनाको उद्धार गरिएको छ भने १९ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ। मृतकहरुको शव निकाल्ने प्रयास भइरहेको छ। प्रहरी, स्थानीय प्रशासन, भारतीय तटरक्षक र दमकल, सेना, नौसेना र एनडीआरएफले निरन्तर उद्धार र खोजी कार्य जारी राखेका छन्।

यो झोलुङ्गे पुल ७ महिनाको मर्मतपछि गत असोज २६ गते सर्वसाधारणका लागि खुला गरिएको थियो। असोज ३० गते साँझ पुल भत्किँदा ठूलो दुर्घटना भएको हो। आइतबार साँझ यो ब्रिटिस कार्पेट ब्रिजमा करिब ४०० मानिस थिए। त्यसपछि पुल भाच्चिएको र सयौं मानिसहरु नदीमा  खसेका थिए। प्रहरीका अनुसार करिब ६० जना अझै बेपत्ता रहेका छन् ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने धेरैलाई उपचारपछि घर पठाइएको छ । गुजरात सरकारले मोरबी केबल सस्पेन्सन ब्रिज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update