Kath khabar
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता
फाइल फोटो

 

         काठमाडौं, कात्तिक १४। काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथि १२ वर्षसम्म कैद सजाय माग दाबी गर्दै सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार दिउँसो मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले अनुसन्धान पूरा गरेर कात्तिक ४ गते आरोपित लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पीडितलाई क्षतिपूर्ति दिनका लागि सन्दीपको सम्पत्ति पनि छानबिन गरेको बताइएको छ । मुद्दामा पीडितलाई क्षतिपूर्तिको पनि माग दाबी गरिएको छ। सन्दीपले इन्कारी बयान दिँदै आएपनि प्रहरीले उनीविरुद्ध मुद्दा पुष्टि हुने प्रमाणहरु होटलका सिसिटिभी फुटेज, अस्पतालको रिपोर्टलगायत पेश गरेको छ भने सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ । त्यस्तै अर्का क्रिकेटर देव खनाल, होस्टेल सञ्चालक, होटलका सञ्‍चालक, लगायतसँग समेत बयान लिएको छ।

काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोपमा उनीविरूद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

#सन्दीप लामिछाने

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update