Kath khabar
शय्या अभाव हुँदा पनि भुईंमै बसेरै सेवा लिने चाहना : भरतपुर अस्पताल

 

                  चितवन, कात्तिक १४।  बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहनामा पर्दछ भरतपुर अस्पताल । प्रसूतिगृह पछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।

अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार ९ सय ६१ ले प्रसूति सेवा लिएका छन् । तीमध्ये सामान्य प्रसूति गराउने ७ हजार ४ सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने ४ हजार १ सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका ३ सय ३५ रहेका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन् । सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमित रुपमा २-३ जना हुने गर्दछन् । उहाँको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ । उहाँले भन्नुभयो, “२०-२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो ।” विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन् ।

निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उहाँले बताउनुभयो । निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ । उहाँले भन्नुभयो, “यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन ।” निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा रु. १ हजार समेत दिईन्छ ।

अस्पतालको यो विभागमा १ सय ४७ शय्या छन् । यसका अतिरिक्त क्याबिन रहेका छन् । प्रसूतिका लागि आएकालाई ४ शय्याको भर्ना, १५ शय्याको वेटिङ (पर्खाइ), ९ शय्याको एक्टिभ (सक्रिय) र ३ शय्याको लेवर रुम रहेका छन् । यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन् । अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ । अस्पतालका ७ वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर २ वटा मोडुलर र ३ वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो । २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उहाँ बताउनुहुन्छ । भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उहाँले जानकारी दिनुभयो ।

डा. सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “हामीले यो विभागलाई थप सुदृढ बनाउनुपर्छ ।” कोभिड हुन वा अन्य रोगका गर्भवतीको प्रसूति यहाँ गर्ने गरिन्छ ।

अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो । अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटर लगायत अन्य जीवनोपयोगी उपकरण सहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ । बाल सघन उपचार कक्ष लेबल ३ मा (एनआइसियु) मा १२ शय्या र ४ वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिन लगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधा सहितका उपचार कक्ष (एस एन सि यु) (लेवल टु) समेत सुरु गरिँदै छ । सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ ।

यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचार पश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पुर्‍याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति (कङ्गारु मदर केयर) ५ शय्याको सञ्चालनमा छ ।

बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दो व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ आउन चाहने गरेको बताउनुभयो । सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update