Kath khabar
सातै प्रदेशमा नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ अभियान

 

            काठमाडौं, कात्तिक १५ । यहिं मंसीर १६ देखि पुस १६ सम्म चर्चित साङ्गीतिक समूह नेपथ्यले विराटनगर‚ वीरगञ्ज‚ हेटौंडा‚ धनगढी‚ सुर्खेत‚ बुटवल‚ पोखरा र काठमाडौं लगायत सातै प्रदेशमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ। सामाजिक संस्था मानवसेवा आश्रमसँगको हातेमालोमा नेपथ्यले ‘मानवताका लागि सङ्गीत’ अभियान गर्न लागेको हो। 

अभियान अन्तर्गत मंसीर १६ गते प्रदेश १ को विराटनगर‚ मंसीर १९ गते मधेश प्रदेशको वीरगञ्ज‚ मंसीर २२ गते बागमती प्रदेशको हेटौंडाको भुटनदेवी स्कूल मैदान र मंसीर २५ गते चितवनको नारायणघाट तथा मंसीर २९ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा नेपथ्यले प्रस्तुति दिनेछ।

यस्तै‚ पुस ३ गते सुदूरपश्चिम प्रदेशको धनगढी‚ पुस ६ गते कर्णाली प्रदेशको सुर्खेत‚ पुस ९ गते लुम्बनीको बुटवल‚ पुस १२ गते गण्डकी प्रदेशको पोखरा र अन्तम प्रस्तुति पुस १६ गते संघीय राजधानी काठमाडौंमा हुनेछ।

नेपथ्यले सशस्त्र द्वन्द्वको समय विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिका लागि शिक्षा’‚ द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान चलाएको थियो ।

“हामीले गीत/सङ्गीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौं,” ब्यान्डका गायक अमृत गुरुङ भन्छन्, “कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मन पराउँदै आउनुभएका स्रोता/दर्शक माझ पुग्न लागेका छौं।”

नेपालयले व्यवस्थापन गर्ने उक्त साङ्गीतिक कार्यक्रमलाई,  “सबैतिर उच्चस्तरको प्रविधि सहित खुला आकाशमुनि शो आयोजना गर्न लागेका ” नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठले जानकारी दिनुभयो, “एकातिर यसले सर्वत्र एकरूपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रूपमा पनि स्थानीय स्रोता/दर्शकले कन्सर्टको आनन्द लिन पाउनेछन् ।”

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update