काठमाडौं, कात्तिक १५ । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-२२ स्थित नख्खु खोलामा खनेको खाल्टोमा नुहाउने क्रममा डुबेर खोटाङ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने २१ वर्षीय देउचन्द्र राईको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस्तै काठमाडौं, टोखा नगरपालिका–८ बानियाँटार गैरीगाउँ डेरा गरी बस्ने काभ्रे घर भएका २५ वर्षीय पासाङ लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका–५ खोरियास्थित खोल्सामा सोही नगरपालिका पालुबारी बस्ने ७५ वर्षीय माईला परियार सोमबार मृत अवस्थामा फेला परेका छन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ बस्ने ५४ वर्षीया मिना लिम्बु सोही ठाउँस्थित काबेली नदिको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । आइतबार दिउँसोदेखी हराएकी उनको प्रहरी चौकी थेचम्बुबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्न क्रममा उनको शव फेला पारेको हो ।
डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई जना घाइते
सुस्ता गाउँपालिका–४ स्थित नर्सही घोलामा डुङ्गा पल्टिँदा ३ जनाको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका–४ गोकुलनगर बस्ने २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ता रहेका छन् ।
घोलापारी रहेको पटनहियामा पिकनिक गई फर्किएका सुस्ता गाउँपालिका-४ गोकुलनगर बस्ने ५ जना डुङ्गामा चढी घोला तर्ने क्रममा अचानक डुङ्गा पल्टिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्धार गरी उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु हो ।
साथै घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित कहानीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।