Kath khabar
घनश्याम भुसालद्वारा केपी ओलीको कारण एमाले परित्याग गरेको घोषणा

 

                  काठमाडौं, कात्तिक १६ ।  त्रिभुज चिह्न लिएर रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी त्यागेको बताएका छन्।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दावी छ। ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो,’ उनले भने।

भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही-१ को विकाशको नेतृत्व देवदहले गर्नुपर्ने बताए। रोजगारी र विकाश अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकाशमा देवदहले नयाँ फड्को मार्ने दावी गरे।

जनताको प्राथमिकताका आधारमा चौतर्फी विकाश गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ। त्यसैगरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिएका कांग्रेस नेता विश्वनाथ यादवले आफूले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउँदै आफ्नो मुख्य प्राथमिकता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताए।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ (२) का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकाशप्रेमी पार्टी रहेको बताए। संविधान र लोकतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाइ थियो।

वाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत देवदह, रोहिणी र तिलोत्तमा गरी सातवटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

रुपन्देही क्षेत्र नं. १ मा झण्डै चार दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधिसभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनका छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update