काठमाडौं, कात्तिक १६ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको छ । कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचार प्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा यात्रा अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । आयोगले पत्रको सम्बोधन गरी सरकारी खर्चमा प्रचार प्रसारमा जान नपाइने आचारसंहिता स्मरण गराएको हो ।
सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधुरा जान खोजेकोमा रोक लगाएको निर्वाचन आयोग स्रोतले जनाएको छ । डडेलधुरा देउवाको निर्वाचन क्षेत्र हो । भोलिदेखि हुने चुनावी कार्यक्रममा सहभागी हुन उहाँ आज डडेलधुरा जाने तयारी थियो ।