काठमाडौं कात्तिक १७ । हुण्डी कारोबारमा संलग्न तीन जना व्यक्तिहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारतको नयाँदिल्ली स्थायी ठेगाना भएका हाल काठमाडौंको ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरीको राजविराज घर भई हाल काठमाडौंको नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारतको राजस्थान स्थायी ठेगाना भएका हाल काठमाडौंको ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।
काठमाडौंको न्युरोड विशाल बजार एरियामा केही व्यक्तिहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरित वित्तिय कारोबार (हुण्डी) गर्दै आएका छन् भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलिले ३१ लाख ८१ हजार तीन सय ८५ रुपैयाँ नगद र विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको चेकसहित उनीहरूलाई पक्राउ गरेको हो ।
न्युरोडको उक्त स्थानमा निगरानी राख्ने क्रममा बुधबार बिशालबजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरी स्थित जयदुर्गा ट्रेड इन्टरनेशनलबाट उनीहरूलाई पक्राउ गरेकोे प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।