Kath khabar
सन्दीपविरुद्धको मुद्दामा आजपनि थुनछेक बहस

 

              काठमाडौं, कात्तिक १८ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

काठमाडौं जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस भएको हो ।

प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका थिए। बिहीबार लामिछानेको तर्फबाट बहस सकिएको छ। बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरी नाबालिका नभई १८ वर्ष उमेर पुगेको साबालिका भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् ।  

उक्त मुद्दामा आज सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ । प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएको विषयको जवाफ दिनेछन् । त्यसपछि जवाफी बहस सकिएपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भनेर अदालतले आदेश दिनेछ ।

काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update