Kath khabar
परराष्ट्रकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु


            काठमाडौं, कात्तिक १८ ।  परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो। प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।  

‘उपचारको लागि उहाँलाई काठमाडौं मोडल अस्पताल लगिएको थियो। तर बचाउन सकिएन,’ परराष्ट्रकी प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो। २०६९ मा सेवा प्रवेश गर्नु भएकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत हुनुहुन्थ्यो। 

सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते छन्। सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update