Kath khabar
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा इन्सेकका ७ सय ५० जनाभन्दा बढी पर्यवेक्षक परिचालन गर्ने



               ललितपुर, कात्तिक २० । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक परिचालन गर्ने भएको छ ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा परिचालन हुने पर्यवेक्षकहरूलाई कात्तिक १८ गते आयोजित निर्वाचन पर्यवेक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा  उक्त जानकारी दिनुभएको हो ।

कार्यकारी  निर्देशक गौतमले प्रजातन्त्र स्थापना पछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै अन्य देशमा पनि निर्वाचन पर्यवेक्षण हुने गरेको बताउनु भयो । उहाँले प्रजातान्त्रिक अभ्यास  भएका देशहरूमा निर्वाचन पर्यवेक्षण हुने स्मरण गर्दै आफूले पनि इन्सेकमार्फत अन्य देशमा गएर निर्वाचन पर्यवेक्षण गरेको  अनुभव  सुनाउनु भयो । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल  भट्टराईले कुनै  पनि  पक्ष र विपक्षमा  नलाग्ने इन्सेक लगायतका ४४ ओटा राष्ट्रिय र तीन ओटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिनुभयो ।

उहाँले देशभर स्वयम्सेवीरूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझाबलाई आयोगले ग्रहण गर्ने बताउनु भयो । पर्यवेक्षकले निर्वाचनमा मतदाता शिक्षा, राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने प्रचार सामाग्री, निर्वाचन सुरक्षालगायतका बारेमा सूक्ष्म अनुगमन गरिरहेको उल्लेख गर्दै नेपाल  सरकारका कामका विषयमा  समेत  पर्यवेक्षण गर्न सक्ने बताउनु भयो ।

इन्सेक अनलाइनका सम्पादक एवम् निर्वाचन पर्यवेक्षणका लागि इन्सेकका फोकल पर्सन रमेशप्रसाद तिमल्सिनाले निर्वाचन  आचारसंहिता र मानव  अधिकारको  विषयमा पर्यवेक्षण गर्नु  पर्ने बताउनु भयो ।

उहाँले निर्वाचन पर्यवेक्षकले पालना गर्नु पर्ने आचारसंहिता, काम, कर्तव्य र दायित्व माथि प्रकाश पार्नु भएको थियो । यसैगरी इन्सेककी अधिकृत आर्जु कार्कीले निर्वाचनका प्राविधिक र मानव अधिकारका व्यवहारिक पक्षलाई पर्यवेक्षकहरूले हेर्नु पर्ने बताउनु भयो ।

उहाँले वाक स्वतन्त्रता, लैङ्गिक समानता, यौनिक  तथा  अल्पसङ्ख्यक व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक लगायतलाई मतदान स्थलमा मैत्रीपूर्ण व्यवहार भएनभएको बारे पनि पर्यवेक्षण गर्नु पर्ने बताउनु भयो ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update