काठमाडौं, कात्तिक २०। नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाइनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिप शुरु भएको छ । च्याम्पियनसिपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापित, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए ।
च्याम्पियनसिपका शीर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दियाका किरण नापित तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौँका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए । रूपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथी जित दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जित बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् ।
पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनसिपको व्यवस्थापन स्पोर्ट्स एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ । नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडीहरुलाई मध्यनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनसिपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्ड समेत प्रयोगमा ल्याएको छ ।
सातै प्रदेशका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपको कुल पुरस्कार राशि १ लाख ७४ हजार रुपैयाँ रहेको छ । स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनसिपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्र्तगत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनसिप अन्र्तगत आईतबार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।