Kath khabar
हल्का वर्षाको सम्भावना

 

             काठमाडौं, कात्तिक २१ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनुका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

राजधानी काठमाडौँमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले बताउनुभयो ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update