
काठमाडौं, कात्तिक २१ । काठमाण्डौ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएकी कुन्तीदेवी पोख्रेलले वडा नं ३ स्थित जर्सीङपौवा, कात्तिकेमा मतदातासँग भेटघाट गरेकी छिन् ।
भेटघाटका क्रममा यहाँका मतदाताले गरेका भव्य स्वागतले यो पटक नेपाली समाजको अपेक्षाअनुसार परिवर्तनका लागि बाटो खोलेको बताएकी छिन् । उनले भनिन्, ‘चुनावमा तपाईँहरूले जिताउनुस् हामी तपाईँहरूका समस्या समाधान गर्नेछौं । यो क्षेत्र राप्रपाको पकड क्षेत्र भएको र यो क्षेत्र जित सुनिश्चितताका लागि महत्वपूर्ण रहेको मानेकी छु ।’
उनले अहिले मानिसहरूले परिवर्तन चाहेका छन्, उक्त परिवर्तनको लागि आफू सधैँ कटिवद्ध रहेको बताइन् । यो क्षेत्रलाई लावण्य देश पनि भनी स्कन्द पुराणमा उल्लेख गरिएको र आफू यो पवित्र भूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराएर धार्मिक पर्यटनमा विकास गर्न विभिन्न पूर्वाधार बनाउने गरी लागिपरेको उल्लेख गरिन् । उनले भने जस्तै यहाँ साँखु लगायतका क्षेत्रमा रहेको धार्मिक विशेषतालाई प्रस्तुत गरिएको छ ।
साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास) मा उल्लेख छ । मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि स्थापित छ ।
पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । २०७२ सालको महाभूकम्पपछि भने धेरै ठाउँमा त्यो परापूर्वकालीन कुलो बिग्रिएको छ । यी र यस्ता महत्व बोकेको साँखुमा आठको संयोग पनि गज्जबको छ। यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । बज्रयोगिनीका आठ बहिनी थिए । उनीहरूलाई चारैतिर राखेकाले सबै आठ बनाइएको विश्वास छ । यस क्षेत्रमा तामाङ, नेवार, बाहुन, क्षेत्री, गुरुङलगायतका जातजाति बसोवास छ । यस धार्मिक नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला, मणिचुड मेला, माधव नारायण श्रीस्वस्थानी ब्रत, दशैं जात्रा, इन्द्रायणी जात्रा तथा अन्य मेलाजात्रा प्रमुख संस्कृतिको रुपमा मानिन्छ ।
नगरपालिकाभित्र प्रमुख चाडपर्वका रुपमा दशैँ, तिहार, माघेसङ्क्रान्ति, चैतेदशैँ, साउने सक्रान्त्री, जनैपूर्णिमा, हरितालिका, कृष्णजन्माष्टमी, गाईजात्रा, योमरी पूर्णिमा, ल्होसार, मेनाङ मनाउने चलन छ ।