काठमाडौं, कात्तिक २२। सिद्धार्थ बैंक लिमिटेडले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।
यो नवीन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरूले परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् । स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिटेन्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् । यसरी भिसा रेमिटेन्स सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्ने छन् । यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यु आर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैङ्किङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ ।