Kath khabar
कुवेतमा पुगेका राष्ट्रिय टोली सबैको कोभिड रिपोर्ट नेगेटिभ

कुवेत, जेठ १७ । विश्वकप छनौट अन्तर्गतको दोस्रो चरणका खेलहरुका लागि कुवेत रहनुभएका खेलाडी अफिसियल गरि ३५ जनाकै कोभिड परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

इराकमा मैत्रीपुर्ण खेल खेलेपछि कुवेत पुगेको टोलीको कोभिड परिक्षण गरिएको थियो । जसमा सबै खेलाडी तथा अफिसियल र पदाधिकारीको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि खेलाडीहरुले केही समयको विश्राम पछि जिम सेसन थाल्नु भएको थियो । नेपालले गत शनिबार इराकको बसरामा मैत्रीपुर्ण खेल खेलेको थियो । जहाँ नेपालले पहिलो हाफको शुरुवातीमा दुई एक गोलको अग्रता बनाएको थियो । पछि खेलाडीकै गल्तीका कारण चार गोल खाएको नेपालले ६–२ को पराजय व्यहोरेको थियो । नेपालले इराकसँग अघिल्ला तीन भेटमा जीत निकाल्न सकेको थिएन । यो नतिजासँगै नेपाल हेड टु हेडमा चार ४–० ले पछि परेको छ ।

अब नेपालले कुवेतमा विश्वकप छनौट अन्तर्गत तीन खेल खेल्दै छ । अघिल्ला पाँच खेलमा एक मात्र जित हात पारेको नेपाल बाँकी खेलमा भने पराजित बनेको छ । अब नेपालले चाइनिज ताइपेइ, जोर्डन तथा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ  ।  छनौट चरणको समुह बि मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । अघिल्ला चार खेलमा शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ । पाँच मध्य तीनमा जित तथा एकमा बराबरी र एकमा हार व्येहोरेको कुवेत १० अंकका साथ दोस्रो स्थानमा  छ । जोर्डनको समान  १० अंक भएपनि गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ । यता जीतविहीन ताइपेइ अन्तिम स्थानमा छ, खाता खोल्न सकेको छैन ।

नेपाली समय अनुसार विश्वकप छनौटको तालिका र भेन्यु
जेठ २०– चाइनिज ताइपेइ
जेठ २४–जोर्डन
जेठ २८– अष्ट्रेलिया
सबै खेल जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिम
गोलरक्षकः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डरः दिनेश राजवंशी, अनन्त तामाङ गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डरः विशाल राई, सन्तोष तामाङ, मनिष डाँगी, सुनिल बल, सुरज ज्यु ठकुरी, आयुश घलान, पुजन उपरकोटी, एरिक विष्ट
फर्वाडः अञ्जन विष्ट, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, रुप लामा

 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update