डडेल्धुरा, कात्तिक २३ । डडेल्धुरा बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा चुनाव प्रचार प्रसारमा रोक लगाईए पछि, उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् : मलाई जोगाइदिनुस् - जनता गुहार्नु बाहेक केही बाँकि रहेन।
सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ।
तत्पश्चात निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।
डडेल्धुरा लगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो । हिजो सोमवार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्याइएको भन्दै सामाजिक सञ्जालमा गुनासो गर्नुभएको थियो ।
आयोगले स्वतन्त्रतापूर्वक चुनाव प्रचार गर्न तथा चुनाव खटिएकालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुने उपयुक्त वातावरण तयार गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ ।