Kath khabar
तोसिमा कार्कीलाई आयोगको निर्देशन : घण्टी नबजाऊ, ध्वनि प्रदूषण गर्छ


                काठमाडौं, कात्तिक २३ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई  निर्वाचन आयोगको आचारसंहिता अनुगमन समितिले घण्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ। आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको कार्कीले जानकारी दिनुभयो।

‘मलाई आचारसंहिता अनुगमन समितिबाट भनेर फोन आएको थियो। उहाँले घण्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घण्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिनुभयो,’ कार्कीले भन्नुभयो।

आयोगले यसअघि उनी लाभको पदमा रहिरहेर उम्मेदवार बनेको भन्दै आयोगले उम्मेदवार हुन अयोग्य भन्दै कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो। कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्, कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य पनि हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी हो।

आयोगको निर्णय विरुद्ध कार्की सर्वोच्च पुग्नुभएको थियो। अन्तरिम आदेशमार्फत उँहाको उम्मेदवारी कायम भएको थियो। सर्वोच्चको आदेश विरूद्ध निर्वाचन आयोगले भ्याकेट निवेदन पनि दिएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update