Kath khabar
गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा


             काठमाडौं, कात्तिक २३ । शहरी क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले काठमाडौं क्षेत्र नं ४ को ज्ञानेश्वरमा सञ्चालन गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अवलोकन गर्नुभएको छ। बुधबार स्वास्थ्य केन्द्रमा पुग्नु भएका बालेनले एक घण्टा स्वास्थ्य केन्द्रमा बिताउनुभएको थियो ।

स्वास्थ्य केन्द्रको अवलोकनपछि मेयर शाहले स्वास्थ्य केन्द्र राम्रो भएको प्रतिक्रिया दिनुभयो । महानगरले अन्य वडामा पनि यस्तै केन्द्र सञ्चालनको तयारीका लागि अवलोकन गर्न आएको बालेनले बताउनुभयो । गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको मोडल निकै राम्रो लागेको भन्दै प्रशंसा गर्नुभयो । ‘महानगरले पनि वडाहरूमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ,’ उहाँले भन्नुभयो ‘त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं ।’ कांग्रेस महामन्त्री थापा तत्कालीन अवस्थामा स्वास्थ्यमन्त्री हुँदा यो अवधारणा ल्याउनुभएको हो । यो स्वास्थ्य केन्द्रलाई अहिलेसम्म महानगरपालिकाले स्वामित्व नलिएकाले थापाले आफ्नो सांसदको तलब यही स्वास्थ्य केन्द्रमा दिएर चलाउँदै आउनु भएको छ ।

बालेनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति, बजेट र पूर्वाधारका विषयमा पनि चासो दिएर जिज्ञासा राख्नु भएको थियो । सो क्रममा गगन थापाका सल्लाहकार प्रताप पौडेलले हाल उक्त केन्द्र सञ्चालनका लागि वार्षिक एक करोड हाराहारीमा खर्च हुने गरेको र जनशक्तिमा विशेषज्ञ चिकित्सकदेखि सरसफाइ कर्मचारीसम्मको व्यवस्था गरिएको जानकारी दिनुभयो । पौडेलको कुरा सुनेपछि मेयर शाहले महानगरले कति रकम खर्च गर्दा यस्ता केन्द्रहरू सञ्चालनमा ल्याउन सक्छ भन्ने विषयमा पनि गृहकार्य गरिरहेको प्रतिक्रिया दिनुभयो ।

स्वास्थ्य केन्द्रको सरसफाइ देखेर प्रभावित भएका शाहले कर्मचारीलाई सँधै यस्तै सफा हुन्छ भनेर जिज्ञासा समेत राख्नुभएको थियो । ‘कस्तो सफा रहेछ । सफा देखेर मलाई त अचम्म लाग्यो, उहाँले भन्नुभयो, ‘सँधै यस्तै सफा हुने हो ? गगन थापाका सल्लाहकार पौडेलले थप्नुभयो, ‘सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै फोहोर हुन्छ भन्नेहरुका लागि यो संस्था नमुना बनाउने प्रयास गरेका छौं । स्वास्थ्य संस्था सँधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं ।’ उहाँहरुको कुरा सुनेपछि मेयर शाहले भुइँ मात्र नभई भित्ताहरू पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभयो ।

शाहले निशुल्क औषधि, फिजियोथेरापी, नागरिकहरूको स्वास्थ्य प्रोफाइल, प्रयोगशाला लगायतका विषयमा भइरहेको कामका विषयमा पनि चासो दिनुभएको थियो । स्वास्थ्य केन्द्र गगन थापाको अगुवाइमा मानव स्वास्थ्यसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० द्वारा सञ्चालित हो । यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धनदेखि घर-घरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ। एमडिजिपी चिकित्सकद्धारा नियमित रुपमा ओपिडी परामर्श, स्त्रीरोग, बाल रोग, हाडजोर्नी, छाला, नाक कान घाँटी, सामान्य चिकित्सा, आयुर्वेदक चिकित्सा जस्ता विशेषज्ञ परामर्श सेवा यो केन्द्रमा लिन सकिन्छ । एक्सरे, इसिजी, फिजियो थेरापी, मानिसक स्वास्थ्य परामर्श सहित फार्मेसी सेवालाई पनि यो केन्द्रले प्राथमिकतामा राखेको छ ।

वडा नं ३० मा बसोबास गर्ने घर परिवार र व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी संकलनमा हाल यो केन्द्र जुटिरहेको छ । हालसम्म १५ हजार जनाको स्वास्थ्य संकलन भइसकेको छ ।

#बालेन्द्र शाह (बालेन)

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update