काठमाडौं, कात्तिक २५ । नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध कात्तिक ३० गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ । त्यसका लागि प्रमुख प्रशिक्षक प्रवेश कटुवालले प्रारम्भिक टिम चयन गरी प्रशिक्षण सञ्चालन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपल्ट मैदानमा फर्किन लागेको पाकिस्तानी टिम कात्तिक २७ मा काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उक्त खेल सञ्चालनका लागि ४८ लाख ६५ हजार ९ सय २७ रुपैयाँको बजेट बनाएको एन्फाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
खेलमा १ भाग्यशाली दर्शकलाई कतारमा हुने विश्वकपमा ब्राजिल र क्यामरुनको खेलको टिकट उपहार दिने एन्फाले जनाएको छ । गत सेप्टेम्बरमा दशरथ रंगशालामै भएको मैत्रीपूर्ण खेलमा नेपालले अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशलाई ३-१ ले हराएको थियो । उक्त खेलमा कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका प्रदीप हुमागाईंलाई बिदाइ गर्दै एन्फाले ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्रका प्रशिक्षक कटुवाललाई नेपाली टिमको जिम्मेवारी दिएको हो ।