रियो दि जेनेरियो, कात्तिक २७। ब्राजिलका महान् फुटबल खेलाडी पेलेले आउँदो महिना कतारमा हुने विश्वकपमा ब्राजिल छैटौं पटक च्याम्पियन बन्ने प्रक्षेपण गरेका छन् ।
दक्षिण अमेरिकी १० टोलीको समूहमा अपराजित रहँदै ब्राजिल विश्वकपमा छनोट भएको थियो । ब्राजिल समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाभन्दा ६ अंकले अगाडि छ । "मलाई विश्वास छ कि ब्राजिलले फेरि एक पटक ट्रफी जित्नेछ", पेलेले सोशल मिडियामा भनेका छन्।
ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो । विश्वका उत्कृष्ट फुटबलरमध्ये एक मानिने पेले तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी हुन्। उनले सन् १९५८, १९६२ र १९७० मा विश्वकपको ट्रफी जितेका थिए । उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका छन् । उनलाई फिफाका 'शताब्दी खेलाडी' को उपाधि दिइएको थियो।
पछिल्ला वर्षहरूमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन्।