नेपालले पहिलो पटक विश्वकप क्रिकेटको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । आईसीसीले नेपाललाई महिला क्रिकेटतर्फकै ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर दिएको हो ।
हालसम्म कुनै पनि प्रकारको विश्वकप आयोजना गर्ने अवसर नपाएको नेपालले सन् २०२७ को अन्डर-१९ महिला टी-२० विश्वकप आयोजना गर्ने भएको हो । यो प्रतियोगिता नेपाल र बंगलादेश मिलेर गर्नुपर्नेछ । आईतबार आईसीसीले २०२७ मा महिलातर्फको यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो ।
उक्त सार्वजनिक नाममा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी-२० विश्वकपको आयोजना गर्नुपर्ने भनिएको छ । त्यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप भने श्रीलंका, सन् २०२६ को पुरूष यू-१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने भएका छन् ।
त्यस्तै सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्ने आईसीसीले जनाएको छ ।