Kath khabar
अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना


                काठमाडौं, कात्तिक २७ । पश्चिमी वायुको असरले अबको २-३ दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।

“पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।” आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्ने जानकारी भट्टराईले दिनुभयो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिनमा पनि आज प्रदेश नं १ को पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि सोमबार पनि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update